वाग्मती प्रदेश : फुल्पिङकट्टी पहिरोमा मर्नेको संख्या ५ पुग्यो



चौतारा,साउन १४ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा गएको पहिरोमा पुरिएर मृत्यु हुनेको सङ्ख्या ५ पुगेको छ । साउन १ गते राति पहिरोले घर पुरेर बेपत्ता भएका दुई जनामध्ये ८४ वर्षीया सोमबुटी शेर्पा र उनकी ४८ वर्षीया छोरी सेमसाङ शेर्पाको १४ दिनपछि बुधबार शव फेला परेपछि मृतकको सङ्ख्या ५ पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

माथिबाट आएको पहिरोले स्थानीय ग्याल्जेन शेर्पाको घर बगाएपछि उनकी आमा, श्रीमती, बहिनी र दुई छोरीसहित पाँच जना पुरेको थियो । घरमुली शेर्पा भने राजधानीमा बस्दै आएकाले पहिरोबाट जोगिएका थिए । दैनिक पानी परिरहेकाले माथिबाट लगातार लेदो माटो झर्ने क्रम जारी रहेकाले शव निकाल्न लामो समय लागेको वडाध्यक्ष सानदोर्जे शेर्पाले बताए ।

पहिरोबाट एक विद्यालयसहित तीन घर पुर्नुका साथै २४ घर उच्च जोखिममा परेका छन् । विस्थापित १६२ जनालाई विभिन्न सुरक्षित स्थानमा राखिएको वडाध्यक्ष शेर्पाले बताए ।

प्रतिक्रिया दिनुहोस्