नुवाकोट बेलकोटगढीका पहिरोपीडितलाई कांग्रेसको सहयोग



साझा पथ संवाददाता

नुवाकोट साउन १४ । कांग्रेस नुवाकोट लगायत संस्था, संगठनले बाढीपहिरो पीडितहरुलाई नगद, खाद्यान्‍न, लत्ताकपडा सहयोग गरेका छन् ।

कांग्रेस नुवाकोट र बेलकोटगढी विदुर काठमाडौं सम्पर्क समिति, गुड ह्युमन अर्गनाइजेन र राष्ट्रिय नागरिक विकास समाजले बेलकोटगढी नगरपालिका वडा नं ५ मा गएको पहिरो पीडित परिवारलाई बुधबार नगद ५ हजार रुपैयाँ, खाद्यान्न तथा लताकपडा उपलब्ध गराएका हुन् ।

राहत रकम नेका नुवाकोट सभापति जगदीश्वरनरसिंह केसीले पीडित परिवारलाई हस्तान्तरण गरेका थिए ।

गुड ह्युमनका अध्यक्ष पुष्करराज पाण्डे र नागरिक विकास समाजका अध्यक्ष महेशजङ्ग कुँवरका अलावा बेलकोटगढी- काठमाडौं सम्पर्क समितिका अध्यक्ष श्याम ढुङ्गाना, कोषाध्यक्ष पूर्ण गजुरेल, उपाध्यक्ष बद्री थपलिया, उपेन्द्र तिमिल्सिनाले रकम सहयोग गरेका थिए ।

त्यसक्रममा विदुर काठमाडौं सम्पर्क समितिद्वारा मास्क वितरण र सेतीदेवी ट्रेड एन्ड गार्मेन्ट इन्डस्ट्री प्रालिद्वारा टाउजर, टिसर्ट लगायत लत्ताकपडा वितरण गरेका थिए । सहयोगी सबैमा नेका नुवाकोटको तर्फबाट सभापति केसीले हार्दिक धन्यवाद दिएका छन् ।

एक साताअघि पहिरो जाँदा उक्त नगरपालिकाको वडा नं. ५ मा पहिरो जाँदा ५ घर विस्थापित भएका छन् । पहिरोमा परी एउटा भैसी, ३ वटा रांगा, १८ वटा बाख्रा पुरेको र पहिरोको कारण अन्य ५० भन्दा धेरै घर जोखिममा परेका जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको थियो । सोहीबेला बेलकोटगढी नगरपालिका वडा नं. ८ हर्रे भन्ने स्थानमा ढुंगामाटोले बनेको घर भत्किँदा ६८ वर्षीय वृद्ध अक्कलबहादुर तामाङको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्