खीरका फाइदै फाइदा, यसरी बनाउनुहोस् स्वादिष्ट खीर



काठमाडौ,साउन १५ । साउन पन्ध्र भन्ने बित्तिकै हामी खीर सम्झन्छौ अझ यसो भनौं साउन १५ खीर खाने पर्वको रूपमा लिन्छौं । साउन महिनामा बिशेष त हिन्दु धर्मअनुसार महिनाभर साकाहारी हुने,व्रत बस्ने गर्दछ्न।त्यसैले साकाहारी महिनाको रूपमा चिनिने साउनका लागि खीर उपयुक्त परिकार मानिन्छ। तीज, श्राद्ध, देवाली, ब्रतबन्ध, भोजभतेर जस्ता शुभ अवसरमा बन्ने विशेष परिकारनै खीरलाई लिइन्छ। त्यसो त खीरलाई एक स्वादिष्ट एवम् स्वास्थ्यवर्दक खानाको रूपमा समेत लिइन्छ। शुद्ध, स्वास्थ्यवर्दक तथा खान सहज भएकै कारण बच्चाको अन्न खुवाईको सुरुवात नै खीर खान लगाएर गरिने प्रचलन छ।

साउन महिना झरी पर्ने महिना भएकाले विभिन्न रोगबाट छुटकारा पाउनका लागि पनि दूधबाट बनेको खीर निक्कै पोसिलो तथा रोग प्रतिरोधात्मक क्षमता हुने भएकाले पनि खीर खानु स्वास्थ्यकर मानिन्छ । झरीको समयमा विभिन्न संक्रामक रोग लाग्ने गर्छ,जुन संक्रमणको कमी खीरले ल्याउन सक्छ । त्यतिमात्र नभई दूध र चामल मिश्रित खीरलाई मात्रा अनुसार चिनी, ध्यु, सुख्खा फल आदि मिसाएर स्वादिलो र पोषिलो बनाइएको हुन्छ। चामलमा कार्बोहाइड्रेड पाइन्छ भने दूध एक क्यासियम र प्रोटिनको भरपर्दो स्रोतको रुपमा लिइन्छ। यद्यपि चिल्लो ननिकालिएको दूधबाट बनाएको खीरमा भने ज्यादा मात्रामा क्यालोरी पाउन सकिन्छ। गाईको दूधबाट बनाएको खीरबाट हामीले प्रसस्त भिटामिन ‘ए’ पाउन सक्छौं।खीरमा सुख्खा फल मिसाएर भिटामिन, मिनरल (खनिज) जस्ता तत्व बढाउन सक्छौ ।

खीर बनाउँदा हालिने घ्युले हाम्रो शरीरमा चाहिने फ्याटको मात्रा पूरा गर्छ। के बालक , के वृद्ध सबैलाई उपयुक्त मानिने खीर दूध र चिनी खान नहुने मान्छेले खानु नभएतापनि ग्यास्ट्रिकका बिरामीले थोरै मात्रामा खान युपयुक्त मानिन्छ ।

खीर पकाउने आवश्यक सामग्री

– चामल (बासमती वा ताइचिन) : १ कप

– दुध : १ लिटर

– चिनी : १ ठुलो चम्चा

– काजु (टुक्रा पारिएको) : २ सानो चम्चा

– नरिवल (टुक्रा पारिएका) : २ सानो चम्चा

– छोकडा (टुक्रा परिएको) : २ सानो चम्चा

– सुकुमेल : २-३ पिस

– किसमिस : ६-७ पिस

– ल्वाङ : २-३ पिस

– तेजपात : १/२ पात

खीर बनाउने तरिका

– सर्वप्रथम चामललाई केलाएर सफा पार्ने।

– खीर बनाउन आवश्यक चामललाई पानीले राम्ररी पखाल्ने।

– चुलोमा मध्यम तापको आगो बाल्ने एक लिटर दुध हालेर डेक्ची बसाल्ने।

– दुधलाई राम्ररी तात्न दिने।

– धोएर राखेको चामललाई उम्लिएको दुधमा हाल्ने।

– धिमे आगोमा दुध र चामल केही मिनेट पाक्न दिने।

– यसरी दुधमा चामल छड्किन थालेपछि पूर्वतयारी गरेको काजु, नरिवल, ल्वाङ, सुकुमेल, किसमिस, छोकडाको टुक्रा हाल्ने। चिनी, तेजपात पनि हाल्ने।

– अब सो चमल र सबै मसल गल्ने गरी सानो आगोमा १२-१५ मिनट पकाउने।

– यसरी तयार भएको खीरलाई चुलोबाट उतार्ने।

– अब मनतातो अवस्थामा खीर खाने ।

प्रतिक्रिया दिनुहोस्