नेपालगन्जमा समुदायस्तरमा कोरोना संक्रमण देखिन थालेपछि निषेधाज्ञा जारी



नेपालगन्ज,साउन १५ । बाँकेको नेपालगन्जमा समुदायस्तरमा कोरोना संक्रमण देखिन थालेपछि निषेधाज्ञा जारी गरिएको छ ।

रेन्डम सेम्पलिङ्ग गरी पीसीआर परीक्षण गर्दा ट्राभल हिष्ट्रि नभएका व्यक्तिमा समेत कोरोना पोजेटिभ देखिएपछि आइतबारदेखि तीन दिनसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो ।

बिहीबार नेपालगन्जमा बसेको बाँके जिल्लास्तरीय कोभिड(१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिएका छन् ।

बिहीबार मात्रै नेपालगन्जमा २७ जनामा कोरोना पुष्टि भएको थियो । भेरी अस्पताल नेपालगन्जमा भएको परीक्षणमा नेपालगन्जका २० जना र बाहिर जिल्लाबाट आएर बसेका ७ जना सरकारी कर्मचारीमा कोरोना पुष्टि भएको हो ।

बाहिर जिल्लाका ७ जनासहित आन्तरिक राजश्व कार्यालय नेपालगन्जका ११ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार क्वारेन्टाइनमा नरहेका विद्यार्थी र कर्मचारीमा पनि कोरोना पोजेटिभ देखिएको छ ।

बाँकेमा क्वारेन्टिनमा बसेकामा कोरोना संक्रमण घटिरहेका बेला समुदायमा रेन्डम स्याम्पलिङ्गबाट परीक्षण गर्दा पुनः कोरोना पाजेटिभ देखिंदा जोखिम बढेका प्रजिअ कुरुम्बाङले बताएका छन् ।

सरकारी कर्मचारीहरुमा कोरोना देखिएपनि उनीहरुलाई कोबाट सर्‍यो भन्ने एकिन हुन सकेको छैन । कर्मचारीलाई सेवा दिँदा कोरोना लागेको हुनसक्ने सम्भावना रहेपनि कोबाट कसरी सर्‍यो भन्ने यकिन नहुँदा समुदायमा कोरोना फैलिएको आशंकालाई बल पुगेको छ ।

यसअघि पनि आन्तरिक राजश्व कार्यालय र यातायात कार्यालय नेपालगन्जका कर्मचारीमा कोरोना पुष्टि भएको थियो । त्रिभुवन चोकमा गरिएको रेन्डम सेम्पलिङमा पनि मिठाई पसले र आन्तरिक राजश्वका एक अधिकृतलाई कोरोना लागेको पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्