लकडाउन खुलेसंगै कोरोना संक्रमण बढ्यो, भिडभाड गर्नु आफ्नै लागी घातक हुन्छ : स्वास्थ्य मन्त्रालय



काठमाडौं, साउन १७ । काठमाडौं उपत्यकामा कोरोना भाइरस कोभिड–१९ को जोखिम बढ्दै गएको छ।

संक्रमित बढ्दै गएपछि उपत्यका कोरोनाको उच्च जोखिम बढेको हो । नेपालमा शनिबार थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यो सँगै कोरोना संक्रमितको संख्या २० हजार ८६ पुगेको छ । १२० दिन पछाडि ७ साउनमा बन्दाबन्दी खुलेपछि नेपालमा संक्रमित संख्या बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमित संख्या बढेको जनाएको छ।

बन्दाबन्दी खुल्नु अगाडिको ११ दिनको अवधिमा ४७ हजार ८७७ जनामा पीसीआर परीक्षण गरिएको थियो भने एक हजार ३४५ जनामा संक्रमण देखिएको थियो। यो भनेको २।८ प्रतिशत हो।

बन्दाबन्दी खुलेको ११ दिनमा भने ५८ हजार १७४ जनाको पीसीआर परीक्षण गरिएकोमा दुई हजार ९२ जनामा संक्रमण पुष्टि भएको छ। यो संख्या ३६ प्रतिशत हो । मन्त्रालयको तथ्याङ्क अनुसार, बन्दाबन्दी खुुलेपछि ०।८ प्रतिशत संक्रमण बढेको छ।

मन्त्रालयले बन्दाबन्दी खुलेपछि रोकथामका प्रयासहरु पालना नगर्दा संक्रमण बढेको जनाएको छ। विशेषगरी सामाजिक दुरी कायम नगर्ने, सीमा नाकाबाट स्वाब संकलन नगरी भित्रन दिने र मास्क नलगाउने गर्दा संक्रमणको खतरा झनै बढेर गएको छ।

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जनाभन्दा धेरै संख्यामा भिडभाड नगर्न आग्रह गर्दै त्यसो गरे घातक हुनसक्ने चेतावनी दिएको छ ।

कोरोना संक्रमणको जोखिम कायम रहेको अवस्थामा २५ जनाभन्दा धेरै संख्यामा भेला भए, भोज, सभा, जुलुस तथा धार्मिक कार्यक्रम गरे त्यो आफ्नै लागि घातक हुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताएका छन् ।

नियमित प्रेस बिफिङका क्रममा शनिबार प्रवक्ता गौतमले सिंहदरबार भित्रै कर्मचारीले सामाजिक दूरी कायम नगरेको, माक्स नलगाएको सूचना आएको भन्दै स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रोटोकल अनिवार्यरुपमा पालना गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्