नुवाकोट सिसडोलका विद्यार्थीलाई छात्रवृत्ति दिन काठमाडौं महानगरले छुट्ट्यायो ५० लाख



नुवाकोट,साउन १७ । काठमाडौँ उपत्यकका १८ स्थानीय तहको फोहर व्यवस्थापन हुँदै आएका नुवाकोट सिसडोलका प्रभावित विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्न महानगरले ५० लाख रुपैयाँ छुट्याएको छ । सिसडोलमा लामो समयसम्म फोहर थुपारिँदा प्रत्यक्ष्य रुपमा पीडित विद्यार्थीका लागि छात्रवृत्ति दिने कामपाले जनाएको छ ।

विगत वर्षमा राहत कोषमार्फत सहयोग गर्दै आएको कामपाले यस वर्षदेखि रु ५० लाखको वार्षिक बजेटमा नै समावेश गरेको छ । यस वर्षदेखि पीडित परिवारका पढ्न चाहने विद्यार्थीलाई कामपाले काठमाडौँमा नै ल्याएर पठनपाठनको व्यवस्था गर्नेछ । यसरी प्रभावित स्थानबाट ल्याइएका बालबालिकालाई विद्यालयस्तर सम्मको शिक्षा पूरा गरिदिने कामपाको नीति रहेको छ । यसरी छात्रावृत्ति प्राप्त गर्ने विद्यार्थीमा सिसडोलमा थुपारिएका फोहर सङ्कलन गर्न जाँदा ज्यान गुमाएका अभिभावकका छोराछोरी तथा फोहर बोकेर गएको गाडीको दुर्घटनामा परी ज्यान गुमाउनेको छोराछोरी रहने छन् । कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख कपरकुमार श्रेष्ठका अनुसार यसअघिका वर्षमा राहत कोषमार्फत अध्ययन गर्नेहरुमा दुई जना छन् ।

हरेक वर्ष पानी पर्न थालेपछि काठमाडौँ महानगरपालिकालाई फोहर व्यवस्थापन गर्न थप समस्या हुने गरेका भए पनि अहिले नियमित फोहर व्यवस्थापन भएको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्