काभ्रेको तेमाल गाउँपालिकाले शिक्षकलाई होम क्वारेन्टिनमा बसाउने



काभ्रेपलाञ्चोक,साउन १७ । तेमाल गाउँपालिकाले आफ्ना सम्पूर्ण शिक्षकलाई होम क्वारेन्टिनमा बसाउने भएको छ । उसले सूचना प्रकाशित गरी यही साउन २० गतेदेखि ३२ गतेसम्म गाउँपालिकाभित्रका शिक्षकलाई होम क्वारेन्टिनमा बस्न अनुरोध गरेको छ ।

सरकारले आगामी भदौ १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेपछि गाउँपालिकाले जिल्ला बाहिर गएका आफ्ना शिक्षकलाई साउन २० गतेभित्र गाउँपालिका आइपुग्न आग्रहसमेत गरेको हो । “होम क्वारेन्टिन बसाइपछि स्वास्थ्य परीक्षण गरेर मात्र शिक्षकलाई विद्यालय पठाइनेछ”, गाउँपालिका अध्यक्ष सलामसिं तामाङले भने । उनका अनुसार अगामी भदौ १ गतेबाट कारोना भाइरस सङ्क्रमणरहित शिक्षकले विद्यार्थी भर्ना, शैक्षिक योजना निर्माण, शिक्षण सिकाइ क्रियाकलापमा सहजीकरण तथा अन्य कार्य क्रमैसँग सञ्चालन गरिनेछ । साथै गाउँपालिकाले विद्यालयमा व्यवस्थित गरिएको क्वारेन्टिन सबै वडा कार्यालयको समन्वयमा अन्यत्र सार्ने योजना बनाइने जनाएको छ ।

सरकारले गत बिहीबार आगामी भदौ १ गतेदेखि विद्यालयमा भर्ना प्रक्रिया शुरु गर्ने निर्णय गरेपछि काभ्रेपलाञ्चोकका क्वारेन्टिन व्यवस्थित गरिएका विद्यालय खाली गरिने भएको छ । बाँकी दुई हप्ताका अवधिमा विद्यालयबाट क्वारेन्टिन सार्ने प्रक्रिया अबलम्बन गर्न एक/दुई दिनमै छलफल गरिने जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्