उपचारमा सहयोग गर्न क्यान्सरपीडितको अपील



काभ्रेपलाञ्‍चोक साउन १७ । काभ्रे चौरीदेउराली गाउँपालिका १ सानो वाङथली, गोदामचौरका २५ वर्षीय क्यान्सरपीडित विष्णुमान तामाङले आफूलाई उपचारमा सहयोग पुर्‍याउन अपील गरेका छन् । विष्णु तामाङ रङ लगाउने काम गर्दै आएका छन् ।

काठमाडौंको स्वयम्भूमा रहेको तामाङ कुदापमा शनिबार आयोजित कार्यक्रममा पीडित तामाङले आफ्नो आर्थिक अवस्था निकै कमजोर रहेकोले उपचारमा समस्या परेको भन्दै आर्थिक सहयोगको अपील गरेका हुन् । सो वडाका अध्यक्ष राजु लामाले फजुल खर्च जोगाएर बिरामीको उपचारमा सहयोग गरिदिन आग्रह गरे । उनले आफूले सरकारी सुविधाबापत महिनामा करिब २१ हजार रकम बुझ्ने गरेकोले त्यहीबाट सकेको सहयोग गरेको पनि उल्लेख गरे । उनले पटक गरी ४३ हजार सहयोग गरिसकेको बताए ।

तामाङ डाजाङका अध्यक्ष एवं गायक फूलकुमार बम्जनले समस्या परेको बेला आफ्नो परिवारका सदस्य सम्झेर सबै जनाले सहयोग गर्नु अत्यन्तै राम्रो भएको टिप्पणी गरे । आफू कमजोर हुँदै जाँदा समाजको हौसला छ भने, असल समाज अभिभावक हो भन्ने भनाइ चरितार्थ भइरहेको भन्दै उनले तामाङ कुदापबाट एकमुष्ठ सहयोग गरिएको बताए । कुदापका लगानीकर्ता एवं पर्यटन व्यवसायी जगत लामाले स्वास्थ्य लाभको कामना गर्दै तामाङ कुदापको सहयोग दिएको बताए । त्यस्तै कुदापका लगानीकर्ता हेमबहादुर तामाङले पनि पीडितको स्वास्थ्यलाभको कामना गरे ।

तामाङ कुदापको तर्फबाट १८ हजार सहयोग गरिएको छ । कुदापमा डिबी तामाङ, सरिता लामा, चेङा शेर्पा, अमर बम्जन, हेमबहादुर तामाङ, प्रेमबहादुर तामाङ, लप्सङ तामाङलगायत ९ जना वनर छन् ।

सहयोग अपील कार्यक्रममा विभिन्न क्षेत्रमा आवद्ध व्यक्तिहरुबाट संकलित १ लाख २६ हजार ८८० रुपैयाँ हस्तान्तरण गरिएको गायक बम्जनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्