कोरोनाको ‘हटस्पट’ बन्दै पर्साको वीरगन्ज, मेयर सरावगीका परिवारका २ सहित थप ४५ जनामा संक्रमण



पर्सा साउन १८ । पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका कोरोना भाइरस (कोभिड १९) को ‘हटस्पट’ बन्दै गएको छ ।

नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा वीरगन्जका मेयर विजयकुमार सरावगीको परिवारका दुई जनासहित थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएपछि वीरगन्ज कोरोना हटस्पट बन्ने देखिएको हो । नयाँ संक्रमितमा १४ महिलासहित ५ वर्षदेखि ६२ वर्ष उमेर समूहका ४५ जना रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन कुमार उपाध्यायले जानकारी दिए ।

संक्रमित ४५ जनामध्ये वीरगन्जका मेयरको परिवारका दुई जना र उनका ४ जना कर्मचारीसमेत रहेका छन् ।

गत बिहीबार काठमाडौँमा मेयर विजयकुमार सरावगीमा कोरोना संक्रमण पुष्टि भएको थियो । ४५ जना संक्रमितमध्ये अधिकांश ‘मास ट्रेसिङ’को परीक्षणमा संक्रमित भेटिएको मेसु डा. उपाध्यायले बताए ।

साउन १२ गते वीरगन्ज–४ स्थित कन्या स्कुलमा गरिएको स्वाब संकलनमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी साउन १५ मा वीरगन्ज–११ श्रीपुर स्कुलमा गरिएको स्वाब संकलनमा १३ जना स्थानीयमा कोरोना संक्रमण देखिएको छ ।

साउन १६ मा वीरगन्ज चिनी मिलमा गरिएको स्वाब संकलनमा ६ जनामा र म्यागनस फर्मा औषधि उद्योगका ५ जना स्टाफमा पनि कोरोना संक्रमण पुष्टि भएको उपाध्यायले बताए ।

प्रतिक्रिया दिनुहोस्