बारामा आइतबारदेखि अनिश्‍चितकालीन निषेधाज्ञा, बाँकेमा घर बाहिर ननिस्कन आग्रह



काठमाडौं साउन १८ । बारामा आइतबारदेखि पूर्ण रुपमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बाराले बिहान ५ बजेदेखि जिल्लामा पूर्ण रुपमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो । पर्सामा कोरोना संक्रमित बढ्दै गएपछि बाराका बासिन्दाको जीवन रक्षाका लागि अत्यावश्यक सेवा बाहेकका काम तथा जथाभावी भिडभाड, धार्मिक, सांस्कृतिक कार्यमा रोक लगाइएको हो ।

यसैबीच कोरोनाको जोखिम बढेपछि बाँकेमा स्थानीय प्रशासनले आइतबारदेखि तीन दिनसम्म निषेधाज्ञा जारी गरेको छ । नेपालगञ्जमा सरकारी कार्यालय र समुदायस्तरमा गरिएको कोरोना परीक्षणमा एकै दिन ३० जनामा सङ्क्रमण देखिएपछि कोरोना सङ्कट व्यवस्थापन समितिको बैठकले तीन दिनसम्म पूर्णरुपमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । कोरोनाको जोखिम हुन नदिन तीन दिन निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए । उनका अनुसार, अत्यावश्यकीय कामबाहेक घर बाहिर ननिस्कन प्रशासनले आग्रह गरेको छ । प्रशासनको आग्रहलाई अटेर गरी अनावश्यकरूपमा हिँडडुल गरेको पाइएमा कानूनबमोजिम कारवाही हुनेछ ।

निषेधाज्ञाको अवधिमा स्वास्थ्य, सुरक्षा, विद्युत्, दूरसञ्चार, खानेपानी, दूध तथा दुग्धजन्य पदार्थ, फोहरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधि पसल तथा तरकारी र खाद्यान्न आपूर्ति सेवा सञ्चालन गर्न पाइने छ । त्यसैगरी एम्बुलेन्स, शवबाहन, दमकल, झण्डावाला र कूटनीतिक नियोगका सवारी साधन, लामो दूरीका मालवाहक गाडी र सवारी अनुमति (पास) भएका गाडी मात्र सञ्चालनमा आउन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्