केरुङ च्छो ताल फुट्ने जोखिम कायमै, सचेत रहन सिन्धुपाल्चोक प्रशासनको आग्रह



सिन्धुपाल्चोक साउन १८ । चीनस्थित न्यालमा जिल्लाको केरुङ च्छो ताल फुट्ने जोखिम कायमै रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ताल फुटेमा भोटेकोसी तटीय क्षेत्रमा क्षति पुर्‍याउन सक्ने भएकाले सचेत रहन आग्रह गरिएको छ ।

तिब्बत क्षेत्रमा निरन्तरको वर्षाका कारणले ताल फुट्ने सम्भावना बढेर गएको हो । शनिबार राति पनि भोटेकोसी नदीको बहाव बढेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । तातोपानीलगायत सबै चौकीका प्रहरीलाई नदीको पानीको बहाव निगरानी गर्न निर्देशन दिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसअघि पनि न्यालम क्षेत्रमा अत्यधिक वर्षापछि ताल फुट्न सक्ने जानकारी आएको थियो ।

भोटेकोसी तटीय क्षेत्रमा जोखिमपूर्व सूचना प्रणाली राख्न माग भइरहेको छ । सूचना प्रणाली राख्नका लागि जिल्ला प्रशासन कार्यालयले परराष्ट्र मन्त्रालयलाई यसअघि नै पत्र काटिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्