उदयपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप, १० जना घाइते



उदयपुर साउन १८ ।
उदयपुरको बेलका नगरपालिकामा भ्रष्टाचार भएको भनी छानबिन माग गर्दै भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा दुबै पक्षका गरी १० जना भन्दा धेरै घाइते भएका छन् । नगरपालिकामा भएको भ्रष्टाचारको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाहीको माग गर्दै आइतबार नगरपालिकाको कार्यालय रहेको रामपुरमा नेपाली कांग्रेस, जनता समाजवादी र राप्रपा कार्यकर्ताले प्रदर्शन गरेका थिए ।

प्रदर्शनकारीलाई नगरपालिकातर्फ जान रोक्ने क्रममा प्रहरीसँग झडप भएको हो । इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक नवीनकुमार सिंहका अनुसार प्रहरी जवान राजकुमार बुढाथोकी घाइते भएका हुन् । प्रदर्शनकारी १० जना भन्दा धेरै घाइते भएका छन् । घाइतेहरुको इलाका स्वास्थ्य चौकी रामपुरमा उपचार भइरहेको छ ।

केही दिनअघि नगरपालिकाकी उपमेयर राजुकमारी चौधरीले नगरप्रमुख दुर्गाकुमार थापाकै मिलेमतोमा भ्रष्टाचार भएको भन्दै राजीनामा घोषणा गरेकी थिइन् ।

पछि नेकपाका बैठकले राजीनामा फिर्ता लिन निर्देशन दिएपछि उपमेयरले आफूबाट गल्ती भएको भन्दै आत्मालोचना गरेकी थिइन् । तर नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राप्रपालगायतले भ्रष्टाचार छानबिनको माग राख्दै आन्दोलन गर्दै आएका छन् ।

विपक्षी दल सडकमा आएपछि नेकपाले पनि मेयरको पक्षमा कार्यकर्ता सडकमा उतारेको छ । दुबै पक्ष प्रदर्शनमा उत्रिएकाले झडप हुने सम्भावना रहेको भन्दै जिल्ला सदरमुकाम गाईघाटबाट ठूलो संख्यामा प्रहरी रामपुर आएका छन् ।

प्रतिक्रिया दिनुहोस्