आज क्वाँटी खाने दिन, यसरी बनाउनुहोस् स्वादिलो क्वाँटी



काठमाडौ,साउन १९ । आज जनैपूर्णिमा । हरेक हिन्दु धर्मावलम्बीले हातमा डोरो र काँधमा जनै लगाउनुका साथै घर घरमा क्वाँटी खाएर यो पर्व मनाउदै छन।

परापूर्व कालदेखि क्वाँटी खाने प्रचलन खासगरी नेवार समुदायमा बढी छ। पछिल्लो सयम सबै समुदायमा यसको लोकप्रियता बढेको पाइन्छ ।

एघार किसिमका गेडागुडी मिसाई क्वाँटी तयार गरिन्छ। बिशेषत: विभिन्न गेडागुडी भिजाएर टुसा उमारेर तयार गरिन्छ।तर पछिल्लो समय टुसा नमारेको गेडागुडी समेत क्वाँटीका रुपमा प्रयोग गर्ने गरिन्छ ।

क्वाँटीमा मिश्रण हुने गेडागुडीमा मास, बकुल्ला, मुंग,भटमास, मस्याम, हरियो र सेतो केराउ, सानो केराउ, कालो चना, सेतो चना र सिमी, बोडी,लगायतका गेडागुडी पर्दछ।

क्वाँटीको शाब्दिक तथा भाषिक उत्पत्ति नेवारी सम्प्रदायबाट आएको मानिन्छ । नेवारी भाषामा ‘क्वाँ’ को अर्थ तातो र ‘टि’को अर्थ झोल भन्ने बुझिन्छ । क्वाँटी विभिन्न गेडागुडीबाट बन्ने भएकाले यस परिकारलाई पोषणको भण्डारका रुपमा लिइने गरिन्छ ।

नेपाल एक कृषिप्रधान देश रहेकाले बर्खाको समयमा खेतीपाती गर्ने किसानलाई बढी पौष्टिक आहार चाहिने भएकाले क्वाँटीको विशेष महत्व समेत रहेको छ ।क्वाँटीबाट ‘कम्प्लिट प्रोटिन’ अथार्त पूर्ण प्रोटिन पाइने पोषणविद्हरुको भनाइ छ । फरक–फरक गेडागुडीको मिश्रणबाट तयार पारिने भएकाले क्वाँटीलाई शक्तिवद्र्धक पौष्टिक आहारका रुपमा मात्र नभई रोगप्रतिरोधात्मक क्षमता बढाउने ‘एन्टी अक्सिडेन्ट’ का प्रमुख श्रोतको रुपमा समेत लिइन्छ त्यस्तै क्वाँटीमा क्यालोरीको मात्रा पनि ज्यादा हुन्छ।

क्वाँटीले रुघाखोकी,मधुमेह, पायल्स, कब्जियत, लिभरसिरोसिस, सुत्केरी महिला, वृद्ध वृद्धाका लागि फाइदा गर्छ भने प्रोटिनको मात्रालाई सन्तुलनमा राख्नुपर्ने मृगौला रोगी, युरेनिया तथा युरिक एसिडका बिरामीले भने क्वाँटी खाँदा विचार पुर्‍याउनुपर्ने हुन्छ।

क्वाँटी बनाउने तरिका

क्वाँटी मानिसले आफ्नो इच्छा अनुसार बनाउने गर्दछन अझ यसो भनौ बनाउने आफ्नै तरिका हुनसक्छन्। कसैले झोल राखेर खान मन पराउछ्न भने कसैले भुटेर ।त्यस्तै कसैले साकाहारी स्वादको क्वाँटी पकाउँछन् भने कसैले कुखुरा र खसीको मासु मिसाएर पनि क्वाँटी पकाउछन। तर आज हामी यहाँ सबैलाई सुहाउने शाकाहारी क्वाँटी बनाउने तरिका दिएका छौ।

आवश्यक सामाग्री

टुसा पलाएका मिक्स गेडागुडी– २०० ग्राम

काटेको हरियो धनियाँ– ५ ग्राम

काटेको/पिनेको लसुन– १० ग्राम

काटेको/पिनेको अदुवा– १० ग्राम

काटेको गोलभेडा– ४० ग्राम

ज्वानो– १० ग्राम

सुप– ५ ग्राम

तोरी– ५ ग्राम

करी पाउडर– ५ ग्राम

ताजा हरियो/ रातो खुर्सानी– ५ ग्राम

बेसारको धुलो– ५ ग्राम

काटेको प्याज– २० ग्राम

नुन -स्वाद अनुसार

क्वाँटी तयार गर्ने तरिका

दुई दिनअघि नै भिजाएर राखेको एघार प्रकारका गेडागुडीहरू र माथिका सामाग्री भेला पारेपछि अब क्वाँटी बनाउन सुरू गर्नुहोस्

प्रेसर कुकरमा तेल तताउनुहोस्।

तेल तातेपछि ज्वाँनो, सुप र तोरी फुराउनुहोस्। एकैछिनमा काटेर राखेको प्याज, लसुन, अदुवा, ताजा रातो/हरियो खोर्सानी राख्नुहोस् र २–३ मिनेट भुट्नुहोस्।

अब, उम्रिएको मिक्स गेडागुडी हालेर केही बेर भुट्नुहोस्।

करी पाउडर, बेसारको धुलो, काटेको गोलभेडा, नुन स्वादअनुसार हालेर राम्रोसँग चलाउनुहोस् र फेरि २–३ मिनेट भुट्नुहोस् ।

केहीबेर भुटिसकेपछि पानी हालेर प्रेसर कुकरको बिर्को बन्द गर्नुहोस्।

ठूलो आगो पारेर करिब ६–७ शिठी लगाउनुहोस् । र हावा गएपछि बिर्को खोल्नुहोस् ।

क्वाँटीलाई आकर्षक देखाउन काटेको हरियो धनियाँ हालिदिनुहोस् ।

अब तपाईंको भान्सामा क्वाँटी तयार भयो ।अब स्वादिलो क्वाँटी खान सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्