सुरक्षा मापदण्ड पालना नगर्ने रेष्टुरेन्ट बन्द गराउने सरकारको तयारी



काठमाडौं साउन १९

काठमाडौं उपत्यकामा कोरोना भाइरस कोभिड–१९ संक्रमण बढ्न थालेपछि सरकारले होटल रेष्टुराँहरू पुन बन्द गर्नु पर्ने निस्कर्ष निकालेको छ।

व्यवस्थित रुपमा सञ्चालन नभएका उपत्यका भित्रका खाजा घर तथा रेस्टुरेन्टहरुबाट जोखिम बढेको भन्दै तिनलाई फेरि बन्द गराउने निष्कर्षमा सरकार पुगेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइतबार बसेको इन्सिडेन्ट कमाण्ड सिस्टम आइसीएको बैठकले यस्तो निर्णय गरेको हो।

उपत्यकामा सञ्चालित धेरै खाजा घर तथा रेस्टुरेन्ट न्यूनतम स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरी सञ्चालन गरेको जानकारी आएको भन्दै यसमा सुधार नगर्नेहरूलाई बन्द गर्ने निष्कर्ष निकालिएको मन्त्रालयका सह-प्रवक्ता डा.समिर अधिकारीले बताएका छन् ।

यस्तै बैठकले उपत्यकाभित्र परीक्षण मापदण्डअनुसार जाँच गर्नुपर्ने व्यक्तिहरुको नमूना संकलन गर्नका लागि ठाउँ ठाउँका अस्पताललाई बुथ तोक्नेसमेत निर्णय गरेको छ । अहिले केही अस्पतालमा मात्रै नमूना लिने गरिएको छ ।

कोरोना परीक्षण मापदण्ड पुगेका व्यक्तिहरु आफ्नो पायक पर्ने ठाउँबाट नमूना दिन नपाउँदा जोखिम झन् बढ्न पुगेको मन्त्रालयको निष्कर्ष छ ।

यस्तै मन्त्रालयले अहिलेसम्म गरेका कामहरुको स्वतन्त्र अडिट गर्ने गरी एउटा स्वतन्त्र प्राविधिक निकायलाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्