भारतले कालापानी क्षेत्रमा दोब्बरले बढायो सुरक्षाकर्मी



दार्चुला साउन २०

भारतले धार्चुलादेखि कालापानीसम्मको सीमा क्षेत्रमा सुरक्षाकर्मीको सङ्ख्या दोब्बरले बढाएको छ । ​तम्बाकुदेखि लिपुलेक हुँदै नाबिढाङको विभिन्न चौकीमा भारतले हजारौँको सङ्ख्यामा सुरक्षाकर्मी बढाएको हो ।

अहिले धार्चुलादेखि लिपुलेकसम्मको सडकखण्डमा दैनिक सयौँको सङ्ख्यामा एसएसबी र सेनाका सवारीसाधन परिचालन गरिएको छ । सीमा क्षेत्रमा गाडीमार्फत भारतले गस्ती बढाएको स्थानीयबासी बताउँछन् ।

नेपाल सरकारले घाटीबगरमा नेपाली सेनाको क्याम्प राखेपछि भारतले आफ्नो क्षेत्रमा सडक चौडा पार्ने काम गरेको छ । भारतले उपकरण लगाएर यस क्षेत्रमा सडक विस्तार गरिरहेको स्थानीयले बताएका छन् ।

नेपाली सैनिक क्याम्प बसेको पारिपट्टि भारतले विस्फोटक पदार्थ विस्फोट गराउँदै आएको छ । भारतले लिपुलेक जोड्ने सडक निर्माणको क्रममा तम्बाकु, घाटीबगर, दोपाखे, पोला, बुदीलगायतका क्षेत्रमा महाकालीबाट नेपाली भू–भागमार्फत् डोजर ल्याइ आफ्नो क्षेत्रमा लगेर बाटो खनेको छ ।

नेपाल सरकारले कालापानी, लिपुलेक, लिम्पियाधुरासहित गुञ्जी, नावी र कुटी गाउँसहितको भूगोल समेटेर नक्सा सार्वजनिक गरेपछि झन् भारतीय पक्षले यस क्षेत्रमा सुरक्षाकर्मी दैनिक परिचालन गरेको छ । अहिले गुञ्जीदेखि कालापानी, नावीढाङ्गसम्म सुरक्षाकर्मीको बाक्लो उपस्थिति गराएको त्यहाँका स्थानीयवासी बताउँछन् ।

नेपाली सेनाले घोरेटोबाटो र सडक निर्माणका लागि भन्दै यस क्षेत्रमा शिविर राखेर बसेको छ । व्यासको छाङ्गरुमै नेपाली सेनालाई राख्न प्रस्ताव अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय र जिल्ला सुरक्षा समितिमार्फत समेत गएको छ ।

प्रतिक्रिया दिनुहोस्