सबै मिलेर महामारीको सामना गरौं-प्रधानमन्त्री ओली



काठमाडौ,साउन २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय नेपालमा फैलिरहेको कोरोना विरुद्ध सबै क्षेत्र र निकाय मिलेर यसको सामना गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले महामारी र राष्ट्रिय सङ्कटका बेला विरोध गर्नेभन्दा महामारीको डटेर सामना गर्नेतर्फ सबैको ध्यान जानुपर्ने औल्याएका हुन ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको  कोभिड–१९ र यसको रोकथामबारे स्वास्थ्य क्षेत्रका विज्ञसँगको परामर्श बैठकमा बोल्दै उनले महामारी हामी सबैको साझा चुनौतीका विषय रहेकाले सर्वप्रथम यसको मिलेर समाधान गर्नुपर्ने बताए । सरकारको जोडबलले मात्र महामारीविरुद्ध विजय हासिल गर्न नसकिने बताउदै प्रधानमन्त्री ओलीले यस्का निम्ति जनतालाई चेतना दिन आवश्यक रहेको बताए ।

‘कोरोना नियन्त्रणमा सरकारको मात्रै प्रयासले सम्भव छैन त्यस्का निम्ति जनस्तरमा नै चेतनाको आवस्यक पर्दछ, प्रधानमन्त्री ओलीले भने । कहिले लकडाउन गरेको बिरोध,कहिले किन नगरेको भन्दै बिरोध गर्ने शैली केवल बिरोधका लागि मात्रै गरिने प्रवृत्ति भएको उनले बताए । सामाजिक अनुशासनले मात्रै कोरोना पराजित गर्न सकिने उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले विगतमा स्वास्थ्यकर्मी, उपकरण, संरचनाको कम्जोर अवस्थामा समेत सबै प्रबन्ध मिलाएर कोरोमा रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी कदम चालेको स्मरण गरे । प्रधानमन्त्री ओलीले भने ‘हामीले महामारी देशमा भित्रिएपछि पूर्वाधार बनाएर सक्षम, सम्पन्न र बलियो स्वास्थ्य पूर्वाधार भएका देशको तुलनामा सफलता हासिल गरेका छौँ।’

सो अवसरमा उनले जनताबाट आउने असन्तुष्टि र आक्रोशलाई आफूले स्वाभाविकरुपमा लिएको बताए । फरक आस्था र विश्वासकै कारण राम्रो कामको विरोध गर्ने प्रवृत्तिसँग भने सजग रहनुपर्ने उनको तर्क थियो । गलत कामको बिरोध भने सधैं स्वागतयोग्य हुने उनले बताए ।

कार्यक्रममा प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्र गुरागाईंले प्रतिदिन १८ हजार जनासम्मको पिसिआर परीक्षण गर्न सक्ने गरी ल्याब स्थापना गरिएको र हालसम्म चार लाख जनाको परीक्षण गरिएको रिपोर्ट प्रस्तुत गरे । कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतको सहभागीता थियो ।

प्रतिक्रिया दिनुहोस्