वाग्मती प्रदेश:एक वर्षमा सवारी दुर्घटनाबाट ४३३ ले ज्यान गुमाए



काठमाडौ,साउन २१ । वाग्मती प्रदेशभर  बितेको एक वर्षमा सवारी दुर्घटनाबाट ४ सय ३३ जनाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७६/७७ मा ४ सय ३३ जनाले ज्यान गुमाएको प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायव महानिरीक्षक बसन्तकुमार लामाले जानकारी दिए । तथ्यांकमा काठमाण्डौ उपत्यकाका घटना भने समावेश गरिएको छैन । काठमाडौ बाहेकका १० जिल्लामा सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या सार्वजनिक गरिएको हो।

दुर्घटनाका मुख्य कारण राज्यको कमजोरी,सडकको जिर्ण अवस्था, चालकको लापरबाही,ओभरटेक, लाइसेन्सविना सवारीका साधन चलाउनु,सर्वसाधरणको कमजोरी, ओभरलोड, रुटपरमटि नलिनु,  मापसे गरेर सवारी साधन चलाउने लगायतका कारणबाट ४ सय ३३ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायव महानिरीक्षक लामाले जानकारी दिए । यो एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी २ हजार २१ जना घाइते भएका छन् ।

यसैगरि एक वर्षको अवधिमा एक हजार २ सय ४४ वटा दुर्घटना भएको उनले बताए । सवारी दुर्घटना न्युनिकरणका लागि यातायात व्यावसायी, ट्राफिक प्रहरी लगायतकाले धेरै प्रयास गरेपनि दुर्घटनामा ज्यान गुमाउनेको सख्या भने घट्न सकेको छैन । सवारी दुर्घटनामा सबै भन्दा बढी चितवन जिल्लामा एक सय १५ जनाको दुर्घटनामा मृत्यु भएको छ ।

सवारी दुर्घटनामा मकवानपुरमा ६७ जनाको मृत्यु भएको छ । यसैगरि काभ्रेमा ५९ जना,धादिङमा ५५ जना,सिन्धुपाल्चोक जिल्लामा ५१ जना, रामेछापमा १४ जना, दोलखामा १५ जना,  , नुवाकोटमा १२ जना र रसुवामा सबैभन्दा थोरै ३ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्