मास्कलाई आफ्नो दैनिक आवश्यकताको सूचीमा राखौं : स्वास्थ्य मन्त्रालय



काठमाडौं साउन २१

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मास्कलाई आफ्नो दैनिक चाहिने वस्तुको सूचीमा राख्न आग्रह गरेको छ ।

घरबाट बाहिर निस्कँदा वा दोस्रो व्यक्तिसँग भेट्दा अनिवार्य रुपमा मास्क लगाउन आग्रह गर्दै मन्त्रालयले मास्कलाई दैनिक आवश्यकताको सूचीमा राख्न आग्रह गरेको हो ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले सर्जिकल तथा अरु किसिमको मास्क लगाउन सम्भव नभएमा कपडाको तीन पत्रे मास्क सिलाएर भए पनि अनिवार्य लगाउन आग्रह गरेका छन् ।

अरुसँग बोल्दा थुकका छिटा आउन सक्ने भएकोले जोसुकैसँग कुराकानी गर्दा, पसलमा जाँदा वा घरबाहिर निस्कँदा अनिवार्य मास्क लगाउन मन्त्रालयले आग्रह गरेको छ । कपडाको मास्क लगाएको भएमा दिनदिनै साबुन पानीले धोएर लगाउन सकिने पनि प्रवक्ता गौतमले बताए ।

मलाई कोरोना सङ्क्रमण भएको छैन तर मेरो आसपासका सबैलाई कोरोना भएको हुन सक्छ भनेर आफूलाई बचाउन सबैले सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने प्रवक्ता गौतमले बताए ।

साथै मन्त्रालयले घरमै बसेर भिडभाड नगरि चाडपर्व मनाउन भन्दै पाहुना नबोलाउन र आफू पनि पाहुना लाग्न नजान आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्