सवारीसाधनमा बिहीबारदेखि जोर बिजोर लागू



काठमाडौं,साउन २१ । भोलिदेखि सरकारले सार्वजनिक तथा निजी सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको छ ।

काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा कोरोनाको जोखिम बढेसँगै जोर विजोर लागू गरिएको गृह मन्त्रालयले जनाएको छ।

प्रवक्ता सहसचिव चक्रबहादुर बुढाका अनुसार काठमाडौं उपत्यकासहितका जिल्ला र सक्रिय कोरोना संक्रमित रहेको जिल्लाका सवारी साधन जोर विजोर प्रणाली लागू हुनेछ ।

यसअघि सरकारले २६ असारबाट निजी सवारी साधनको जोर विजोर हटाएको थियो भने उपत्यकामा तीन जिल्ला र बाहिर जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएको थियो । यस्तै भदौ १ देखि लामो दुरीको सवारी चलाउन दिने निर्णय गरेको थियो ।

तर कोरोना संक्रमणको जोखिम बढेसँगै विज्ञहरुले जोर विजोर लागू गर्न सुझाव दिएका थिए।मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको छलफलमा पनि विज्ञहरुले पूर्ण लकडाउन गर्नुको साटो स्वास्थ्य मापदण्डमा कडाई गर्न र जोरविजोर लगाउन सुझाब दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्