लिखु नदीले बगाएर एक पुरुष बेपत्ता



ओखलढुंगा, साउन २२ । लिखु नदीले बगाएर एक पुरुष बेपत्ता भएका छन। ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिका वडा नं १०  रानीवनस्थित निगालेभञ्ज्याङका एक पुरुष नदीले बगाउँदा बेपत्ता भएका हुन । बेपत्ता हुनेमा स्थानीय ३६ वर्षीय रोहितकुमार ढुंगेल रहेको प्रहरीले जनाएको छ ।सिन्धुलीबाट गाई लिएर फर्कने क्रममा सिल्खुको भर्‍याङ भन्ने ठाउँमा ढुंगेललाई लिखु नदीले बगाएको थियो ।

ढुंगेलसँगै गएका उनका बुवा चन्द्रप्रसाद र ससुरा भने शकुसल रहेका छन् । लिखुको किनारमा हिँड्ने क्रममा ढुंगेलका ससुरा चिप्लिएपछि तान्न खोज्दा ढुंगेल खोलामा हुत्तिएको बताइएको छ ।

बुधबार दिउँसोको उक्त घटनापछि प्रहरी र  स्थानीय ढुंगेललाई खोज्न घटनास्थलमा पुगेका थिए । तर ढुंगेलको अवस्था अझै अज्ञात रहेको चम्पादेवी गाउँपालिका वडा नं १० का वडाध्यक्ष उज्जन बुढाथोकीले बताए ।

प्रतिक्रिया दिनुहोस्