थाइल्यान्डमाथि रोमाञ्चक जित निकाल्दै नेपालले एसियाडमा महिला कबड्डीमा गर्यो विजयी सुरुआत
काठमाडौँ, असोज ६ । जापानको नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड) अन्तर्गत महिला कबड्डीमा नेपालले थाइल्यान्डमाथि रोमाञ्चक जित निकाल्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ।
तोकाइ सिटिजन जिम्नेसियममा आज भएको समूह चरणको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ४६–४३ अङ्कले पराजित गरेको हो।
खेलको पहिलो हाफमा नेपाल २४–१५ अङ्कले पछि परेको थियो। दोस्रो हाफमा भने नेपाली टोलीले उत्कृष्ट पुनरागमन गर्दै ३१–१९ अङ्क जोड्यो। दोस्रो हाफमा गरेको प्रभावशाली प्रदर्शनसँगै नेपालले समग्रमा ४६–४३ को जित सुनिश्चित गरेको हो।
जारी एसियाली खेलकुदमा नेपालले अपेक्षाअनुसार नतिजा निकाल्न नसकिरहेका बेला महिला कबड्डी टोलीको यो जित महत्त्वपूर्ण बनेको छ। यसअघि चीनमा सम्पन्न १९औँ एसियाली खेलकुदमा नेपाली महिला कबड्डी टोलीले ऐतिहासिक कांस्य पदक जितेको थियो।
प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ। यस समूहमा थाइल्यान्डसँगै श्रीलङ्का र चिनियाँ ताइपेइ रहेका छन्। नेपालले अब समूह चरणका बाँकी खेलमा श्रीलङ्का र चिनियाँ ताइपेइसँग प्रतिस्पर्धा गर्नेछ।
समूह ‘ए’ मा साविक विजेता इरानसँगै भारत, बङ्गलादेश र आयोजक जापान रहेका छन्। दुवै समूहबाट शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।

