त्रिपुरेश्वर बस आगलागी घटनामा न्यायिक छानविन समिति गठन गर्न सांसदहरूको माग
काठमाडौं,असोज ६ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले काठमाडौंको त्रिपुरेश्वरमा ट्राफिक प्रहरीसँगको विवादपछि बस चालक अर्जुन दोङले आत्मदाह गरेको घटनाको सत्यतथ्य बाहिर ल्याउन तत्काल न्यायिक छानविन समिति गठन गर्न सरकारसँग माग गरेका छन्।
सांसदहरूले बसमा भएको आगलागी तथा चालकको मृत्युको घटनाबारे निष्पक्ष छानविन गरी वास्तविकता सार्वजनिक गर्नुपर्नेमा जोड दिएका छन्। उनीहरूले यात्रु तथा सार्वजनिक सवारी चालकको सुरक्षाका लागि प्रभावकारी ट्राफिक व्यवस्थापन, सुरक्षित र व्यवस्थित सडक पूर्वाधार निर्माण तथा राज्यका नियमनकारी निकायलाई जिम्मेवार र मर्यादित बनाउनुपर्ने बताएका छन्।
यस्ता घटनाले राज्यप्रति नागरिकमा बढ्दै गएको निराशा र लाखौँ बेरोजगार युवाका पीडा अभिव्यक्त गर्ने सांसदहरूको भनाइ थियो। नागरिकका संवेदना, गुनासा र समस्याप्रति सरकार गम्भीर बन्नुपर्ने उनीहरूले बताएका छन्।
बैठकमा सांसदहरूले बढ्दो सडक दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी कदम चाल्न तथा सार्वजनिक सवारी चालकको मनोसामाजिक अवस्थाबारे अध्ययन गरी आवश्यकताअनुसार तालिम र परामर्शको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
यसैगरी सांसदहरूले बजारमा बढ्दो महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारसँग माग गरेका छन्। विभिन्न जिल्लामा फैलिएका स्क्रब टाइफस, डेंगीलगायत सङ्क्रामक रोग नियन्त्रणका लागि प्रभावकारी पहल गर्न तथा राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा बढ्दै गएको मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रणका लागि आवश्यक कदम चाल्न पनि उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।

