नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ९० पुग्यो



काठमाण्डौ साउन २८,
देशका विभिन्न अस्पतालमा गरी गएको २४ घण्टामा थप सात जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

ललितपुरमा चार जना तथा मोरङ, रुपन्देही र सप्तरीमा एकरएक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । पाटन अस्पतालमा उपचार गराइरहेकी जनकपुरकी ३८ वर्षीया महिला र मेडिसिटी अस्पतालमा उपचार गराइरहेका जनकपुरकै ७१ वर्षीय पुरुषको मृत्यु भएको छ

यस्तै ललितपुरको किस्ट अस्पतालको आईसीयूमा उपचाररत बाराको कलैया घर भएका ७५ वर्षीय पुरुष र टेकुकी ७८ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिए ।

यस्तै बुटवलको कोरोना विशेष अस्पतालमा कपिलवस्तु नगरपालिका २ तौलिहवाका ४२ वर्षीय र कपिलवस्तु कृष्णनगरका २५ वर्षीय दुई पुरुषको उपचारको क्रममा मङ्गलबार राति मृत्यु भएको अस्पतालका फोकल पर्सन डाक्टर सुर्दशन थापाले जानकारी दिए ।

यस्तै सुनसरीको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा मोरङको बूढीगङ्गा गाउँपालिका २ का ५५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । यस्तै सप्तरीको डाक्नेश्वरी नगरपालिका ६ छातापुर घर भइ राजविराज नगरपालिका ६ मा बस्दै आएका ८० वर्षीय वृद्धको पनि मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ९० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्