मन्दिर परिसरमा मृत फेला परेका व्यक्ति कडेरी पुजारी नभएको प्रहरीको स्पष्टोक्ति



धनुषा,साउन १५ । धनुषाको सबैला नगरपालिका–१२ स्थित मन्दिर परिसरमा मृत अवस्थामा फेला परेका व्यक्ति बन्ठु राउत कडेरी पुजारी नभएको प्रहरीले स्पष्ट पारेको छ।

मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक ओमप्रसाद अधिकारीले सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा मृतकलाई कडेरी पुजारी भनेर प्रचार गरिएको सूचना गलत भएको बताउनुभएको छ। उहाँले संवेदनशील विषयमा तथ्य पुष्टि नगरी भ्रम फैलाउने गतिविधि नगर्न सबैसँग आग्रह गर्नुभएको छ।

यस्तै, जिल्ला प्रहरी कार्यालय धनुषाले पनि विज्ञप्ति जारी गर्दै मृतक कडेरी पुजारी नभई घुमीफिरी हिँड्ने व्यक्ति रहेको जनाएको छ। प्रहरीका अनुसार ती व्यक्ति बाहिर कामकाज गर्ने र बेलाबेला मन्दिरमा आएर सुत्ने गरेका थिए।

प्रहरीले घटनालाई धर्मसँग जोडेर अफवाह नफैलाउन आग्रह गर्दै यो विशुद्ध आपराधिक घटना भएको जनाएको छ। घटनामा संलग्न जोसुकैलाई कानुनी दायरामा ल्याई आवश्यक कारबाही गरिने प्रतिबद्धता पनि प्रहरीले व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्