अविरल वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा अवरुद्ध
काठमाडौं,साउन १५ । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग र सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीले आज बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा अवरुद्ध भएको तथा केही सडकमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको जनाएको छ।
प्रहरीका अनुसार काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमका कारण बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। त्यस्तै, कान्तिलोकपथमा पनि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालन बन्द गरिएको छ।
इलाम नगरपालिका–९ अन्तर्गत मेची राजमार्गमा वर्षाका कारण सडक हिलाम्मे भएपछि सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्गको जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खस्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।
दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारस्थित लामासाँघु–रामेछाप सडकखण्ड सामाकोशी खोलाको बहावले सडक कटान गरेपछि बन्द भएको छ। रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित पासाङ ल्हामु सडकखण्ड पनि त्रिशूली नदीले कटान गरेपछि पूर्ण रूपमा अवरुद्ध भएको छ।
ललितपुरको बागमती गाउँपालिका–३ अन्तर्गत कान्तिलोकपथमा सुक्खा पहिरो खसेपछि सडक बन्द भएको छ। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–४ महालक्ष्मी खोला नजिक पहिरो खस्दा भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा पनि सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।
यस्तै, जाजरकोट–डोल्पा सडकअन्तर्गत मूलपानी खोलामा आएको बाढीले सडक कटान गर्दा यातायात प्रभावित भएको छ। बेनी–जोमसोम सडकखण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ सुकेबगर र रघुगङ्गा गाउँपालिका–२ मा आज बिहान खसेको पहिरोका कारण उक्त सडक पनि बन्द भएको छ।
नेपाल प्रहरीले वर्षायाममा पहिरो, बाढी र सडक कटानको जोखिम उच्च रहेकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको अवस्थाबारे जानकारी लिन तथा आवश्यक सतर्कता अपनाउन सबै यात्रुलाई आग्रह गरेको छ।

