सीमा नाकामा परिचयपत्र अनिवार्य, सर्लाहीमा सुरक्षा सतर्कता कडा



सर्लाही, साउन १५ — सर्लाही जिल्ला सुरक्षा समितिले सीमा नाकामार्फत नेपाल प्रवेश गर्ने सबै यात्रुले अबदेखि आधिकारिक परिचय खुल्ने परिचयपत्र अनिवार्य रूपमा देखाउनुपर्ने निर्णय गरेको छ।

बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले वर्तमान सुरक्षा अवस्थालाई मध्यनजर गर्दै छिमेकी मुलुकबाट सीमा नाकामार्फत नेपाल प्रवेश गर्ने सबै व्यक्तिको परिचय यकिन गरेपछि मात्रै प्रवेश अनुमति दिने निर्णय गरेको हो। सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेका अनुसार परिचय खुल्ने आधिकारिक परिचयपत्र देखाएपछि मात्र नेपाल प्रवेश गर्न दिइनेछ।

पूर्वी नेपालका केही जिल्लामा विकसित तनावपूर्ण अवस्थापछि सर्लाहीमा पनि सुरक्षा सतर्कता बढाइएको प्रशासनले जनाएको छ। सोही क्रममा प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी, सहायक प्रमुख जिल्ला अधिकारी घिमिरे तथा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूले विभिन्न धर्मका धार्मिक अगुवासँग छलफल गरेका छन्।

छलफलमा जिल्लाभित्र सामाजिक सद्भाव, शान्ति र धार्मिक सहिष्णुता कायम राख्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गरिएको छ। साथै, कुनै पनि विवाद वा असमझदारीलाई संवादमार्फत समाधान गर्न तथा हिंसात्मक वा उत्तेजनात्मक गतिविधिमा संलग्न नहुन सबैसँग अपिल गरिएको छ।

जिल्ला सुरक्षा समितिले धार्मिक जुलुस, र्‍याली, सभा वा अन्य सार्वजनिक कार्यक्रम आयोजना गर्नुअघि स्थानीय प्रशासनलाई अनिवार्य रूपमा पूर्वसूचना दिनुपर्ने निर्णय पनि गरेको छ। यसैबीच, जिल्ला प्रशासन कार्यालय सर्लाहीले सार्वजनिक अपिल जारी गर्दै सामाजिक सद्भाव र शान्ति–सुरक्षा कायम राख्न नागरिकसँग सहयोगको आग्रह गरेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार शुक्रबार बिहानसम्म जिल्लाको समग्र शान्ति–सुरक्षाको अवस्था सामान्य रहेको छ।सदरमुकाम मलङ्गवासहित केही स्थानमा शान्तिपूर्ण प्रदर्शन भए पनि समग्र अवस्था नियन्त्रणमा रहेको उहाँले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्