काठमाडौंको कलङ्की क्षेत्रमा कोरोना संक्रमण बढेपछि अत्यावश्यक बाहेकका पसल बन्द



काठमाडौं साउन २९ ।

कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमा फैलिन थालेपछि काठमाण्डौ महानगरपालिका वडा नम्बर १४ मा अत्यावश्यक बाहेकका पसल बन्द गरिएको छ ।

वडा कार्यालयले प्रेस विज्ञप्ति निकालेर आफ्नो क्षेत्रमा समुदायमा नै कोरोना फैलिसकेको निष्कर्ष निकालेर बिहीबारदेखि अत्यावश्यक बाहेकका पसल नखोल्ने निर्णय गरेको हो । केही दिनअघि क्यासेट पसलका एक जनालाई सङ्क्रमण देखिएको र पछि कन्ट्याक्ट ट्रेसिङ गर्दा अन्यमा पनि सङ्क्रमण पाइएको विज्ञप्तिमा उल्लेख छ ।

बिहीबारदेखि १५ दिनसम्म अब वडा नम्बर १४ का कलङ्की, कालीमाटी, खड्का गाउँ, कुलेश्वर, बल्खु खोलासम्मका पसल तथा गतिविधि बन्द गरिएको वडाध्यक्ष शोभा सापकोटाले जानकारी दिए ।

अब फलफुल तथा तरकारी व्यवसायीले बिहान ५ बजेदेखि ९ बजेसम्म मात्र पसल खोल्न पाउने छन् भने औषधि लगायत खाद्यान्न खुद्रा व्यवसायीले दुरी कायम गरेरमात्र दिनभर पसल खोल्न पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्