आजदेखि रात्रिकालीन बससेवा सञ्चालन



काठमाडौँ,वैशाख १-काठमाडौँ महानगरपालिकाले आजदेखि रात्रिकालीन बससेवा सञ्चालन सुरु गरेको छ । साझा यातायातसँगको सहकार्यमा आज साँझ ७ः०० बजेदेखि पुल्चोकबाट बससेवा शुभारम्भ गरेको कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिनुभयो ।

उहाँका अनुसार आजदेखि पहिलो चरणमा काठमाडौँ उपत्यकाको लगनखेलबाट, बूढानीलकण्ठसम्म, बूढानीलकण्ठबाट, लगनखेलसम्म, थानकोटदेखि एयरपोर्टसम्म र एयरपोर्टदबाट थानकोटसम्मको रुटमा विद्युतीय बससेवा सञ्चालन हुनेछन् ।

ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूतिगृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल, गङ्गालाल हृदय केन्द्र हुँदै बूढानीलकण्ठसम्म एउटा रुट हुनेछ । उत्तरदक्षिणतर्फ पर्ने यो १६ किलोमिटरको एकतर्फी रुट हुने कामपाले  जनाएको छ ।

थानकोटबाट सतुङ्गल, कलङ्की, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तरराष्ट्रिय विमानस्थलसम्म पूर्वपश्चिम दिशाको एकतर्फी दूरी २० किलोमिटरको हो । यी दुई रुटमा चार वटा रात्रिकालीन विद्युतीय बस सञ्चालन हुने महानगरले जानकारी दिएको छ ।

“बेलुका ८ः०० बजेपछि सार्वजनिक यातायात सञ्चालन नहुँदा महँगोमा यात्रा गर्नुपर्ने समस्याको समाधान गर्न जरुरी भएकाले रात्रिकालीन सार्वजनिक यातायात सेवा सुरु गरेका हौँ”, महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले भन्नुभयो, “सार्वजनिक यातायात र यसको विकल्प नहुँदा सबैलाई समस्या परेकामा यसको केही हदसम्म समाधान हुने विश्वास छ ।” उहाँले यसअघि रातिको समयमा किशोरी र महिलाले दुव्र्यवहार भोग्नाका साथै विद्यार्थीलाई आर्थिक रूपमा पनि खर्चिलो हुने गरेकामा केही सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

सेवालाई अत्याधुनिक, एकीकृत, सहज, सुरक्षित, भरपर्दो दिगो प्रणालीमैत्री बनाउने लक्ष्यसहित कामपाले तयारी गरिरहेको उहाँको भनाइ छ । सेवा प्रारम्भ गर्दा साँझदेखि राति ११ बजेसम्म बस सञ्चालन हुनेछन् । तोकिएको रुटका बसस्टपबाट हरेक २० मिनेटको अन्तरमा बस आउनेछन् । बसमा सिसिटिभी क्यामरा जडान हुनेछन् भने सुरक्षाका लागि नगरप्रहरी खटिनेछन् ।

प्रतिक्रिया दिनुहोस्