पाँच वर्षमा ७% आर्थिक वृद्धि र प्रतिव्यक्ति आय ३००० डलर पुर्‍याउने सरकारको लक्ष्य



काठमाडौँ, वैशाख २ । सरकारले आगामी पाँच वर्षभित्र औसत आर्थिक वृद्धि दर ७ प्रतिशत हासिल गर्दै प्रतिव्यक्ति आय ३००० अमेरिकी डलर पुर्‍याउने लक्ष्यसहित राष्ट्रिय प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ।

सरकारका अनुसार राष्ट्रिय मान्यता प्राप्त ६ राजनीतिक दलका घोषणापत्र, वाचापत्र तथा प्रतिबद्धताहरूलाई समेटेर उक्त प्रतिबद्धता तयार गरिएको हो। यसलाई आगामी आर्थिक वर्ष २०८३/८४ देखि लागू हुने वार्षिक नीति तथा कार्यक्रम, बजेट तथा सुधार एजेन्डासँग आबद्ध गरिने जनाइएको छ।

प्रतिबद्धता कार्यान्वयनका लागि विभिन्न मन्त्रालय तथा निकायहरूले आफ्नो वार्षिक कार्यक्रम र बजेटमार्फत आवश्यक योजनाहरू समावेश गर्ने व्यवस्था गरिएको छ। साथै, सरकारले मस्यौदा सार्वजनिक गर्दै राजनीतिक दल तथा सरोकारवालासँग सुझावसमेत मागेको छ।

सरकारले सार्वजनिक गरेको सय बुँदे कार्ययोजनाअनुसार राजनीतिक दलका घोषणापत्रमा उल्लेखित विषय समेटेर राष्ट्रिय प्रतिबद्धता पत्र लागू गरिनेछ। अवधारणापत्रमा आर्थिक स्थायित्व र सुधार, कृषि आत्मनिर्भरता, पर्यटन तथा नागरिक उड्डयन, ऊर्जा विकास, खानी तथा खनिज र पूर्वाधार विकासलगायत १८ वटा क्षेत्र समेटिएका छन्।

त्यसैगरी रोजगारी र समृद्धि, शिक्षा, स्वास्थ्य, वन तथा वातावरण संरक्षण, जलवायु परिवर्तन, सुशासन, भ्रष्टाचार नियन्त्रण, प्रशासनिक सुधार, सेवा प्रवाह र विद्युतिय सुशासन तथा प्रविधिलाई पनि प्राथमिकतामा राखिएको छ।

प्रतिबद्धता पत्रमा आगामी पाँच वर्षभित्र सरकारी सेवामा २५ प्रतिशत नयाँ र सक्षम जनशक्ति भित्र्याउने लक्ष्य राखिएको छ। रोजगारीलाई समृद्धिको मुख्य आधार बनाउँदै आगामी पाँच वर्षमा १५ लाख रोजगारी सिर्जना गर्ने योजना पनि समेटिएको छ।

प्रतिक्रिया दिनुहोस्