नुवाकोटमा ‘न्यू इयर ब्लास्ट’ : रिङ रेस्लिङले ताने दर्शक, हेभीवेटमा साइनको दबदबा



• भरतसन्तोषी लामा

नुवाकोट, वैशाख १ — नयाँ वर्ष २०८३ को पहिलो दिन, नुवाकोटको दुप्चेश्वर धाम परिसर असामान्य रूपमा गुन्जायमान थियो। धार्मिक आस्थाको केन्द्रका रूपमा परिचित यो स्थान एक दिनका लागि खेलकुद र मनोरञ्जनको रंगशाला बन्यो, जहाँ रिङ रेस्लिङका रोमाञ्चक भिडन्तले हजारौंको संख्यामा दर्शकलाई बाँधेर राख्यो।

नेपाल रिङ रेस्लिङ संघ नुवाकोटद्वारा आयोजित ‘न्यू इयर ब्लास्ट’ प्रतियोगिताले स्थानीय खेल संस्कृतिमा नयाँ ऊर्जा थपेको छ।परम्परागत मेलामहोत्सवको शैलीमा प्रस्तुत गरिएको प्रतियोगितामा खेल, संगीत र उत्सवको समिश्रण देखिन्थ्यो।

सबैभन्दा बढी प्रतिक्षित हेभीवेट प्रतिस्पर्धामा प्रदीप पाण्डे उर्फ साइनले आफ्नो दबदबा कायम राख्दै डेभिडलाई पराजित गरे। शक्तिशाली दाउपेच र आत्मविश्वासपूर्ण प्रस्तुतीले उनले दर्शकबाट सबैभन्दा बढी वाहवाही बटुले।

महिला (विमेन)तर्फ आकृतिले तनुलाई हराउँदै च्याम्पियन बनिन्, जसले नेपाली महिला रेस्लिङमा बढ्दो सहभागिता र सम्भावनाको संकेत गर्‍यो।

ट्याग टिम हार्डकोर म्याचमा किङ्ग रोबेर्ट र उर्गेनको जोडीले चट्टान र ठागुलाई पराजित गर्दै उपाधि जित्यो। उता, ट्रिपल थ्रेट म्याचमा एक्स हिरोले सुजल र सिजे वर्ल्डलाई पछि पार्दै विजेता बने।

प्रतियोगितामा विजेताहरूलाई आकर्षक पुरस्कार प्रदान गरिएको छ। हेभीवेट (पुरुष) विजेताले गोल्डेन बेल्टसहित ७५ हजार रुपैयाँ, महिला च्याम्पियनले बेल्टसहित ५० हजार रुपैयाँ प्राप्त गरे। ट्याग टिम हार्डकोर विजेताले ६० हजार रुपैयाँ र ट्रिपल थ्रेट विजेताले २५ हजार रुपैयाँ हात पारे।

संघका महासचिव कमल तामाङका अनुसार प्रतियोगितामा साइन, डेभिड, चट्टान, किङ्ग रोबेर्ट, उर्गेन, ठागु, तनु, आकृति, सुजल, एक्स हिरो, सिजे वर्ल्डलगायत एक दर्जनभन्दा बढी चर्चित नेपाली रेस्लरहरूको सहभागिता रहेको थियो।

कार्यक्रमलाई अझ जीवन्त बनाउन स्मृति गौतम र मदन थापालगायतका राष्ट्रिय कलाकारहरूले सांगीतिक प्रस्तुति दिएका थिए, जसले खेल हेर्न आएका दर्शकलाई थप मनोरञ्जन प्रदान गर्‍यो।

यसअघि पनि संघले विभिन्न संस्करणका प्रतियोगिता आयोजना गर्दै आएको छ—२०७८ मा ‘फर्स्ट आरडब्ल्यू समर स्लाम’, २०७९ मा ‘सेकेन्ड आरडब्ल्यू समर स्लाम’ र ‘वडादशै महाभिडन्त’। ती अनुभवलाई समेट्दै यसपटकको ‘न्यू इयर ब्लास्ट’ अझ व्यवस्थित र भव्य बनेको आयोजकको दाबी छ।

आयोजकका अनुसार यस्ता प्रतियोगिताले केवल खेलाडीलाई प्लेटफर्म दिने मात्र होइन, नुवाकोटको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्‍याउने विश्वास लिइएको छ। धार्मिक स्थलसँगै साहसिक खेलको आकर्षण जोडिँदा आन्तरिक तथा बाह्य पर्यटकका लागि नयाँ गन्तव्यको सम्भावना देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्