कोरोना महामारी नियन्त्रणमा सरकार असफल बन्दै गएको भन्दै कांग्रेसको गम्भीर ध्यानाकर्षण



काठमाडौं भदौ १० ।

नेपाली कांग्रेसले कोरोना संक्रमण नियन्त्रणमा सरकार चुकेको बताएको छ।

कोभिड १९ रोकथामका लागि सरकार दिशाविहीन र योजनाविहीन रहेको कांग्रेसको आरोप छ। पार्टीबाट गठित कोभिड–१९ अनुगमन समितिले सरकारी अकर्मण्यता र संवेदनहीनताले संक्रमण नियन्त्रणभन्दा बाहिर गएको आरोप लगाएको हो।

अनुगमन समितिका संयोजक डा प्रकाशशरण महतले नागरिकको जीवन संकट पर्नुमा सरकार जिम्मेवार रहेको बताए। आर्थिक र सामाजिक असर सम्वोधन गर्न सरकारसँग ठोस योजना नरहेको उनको भनाइ छ।

कोरोना संक्रमण नियन्त्रणका लागि आवश्यक अक्सिजनको पूर्ण सुनिश्चितता र भेन्टीलेटरको व्यवस्था गर्न पनि कांग्रेसले सरकारको ध्यानाकर्षण गराइएको छ। स्वास्थ्यकर्मीलाई बिमाको व्यवस्था कार्यान्वयनको माग गर्दै अनुगमन समितिले कोरोना जोखिम भत्ता उपलब्ध गराउन आग्रह गरेको छ। संक्रमित चिकित्सक र स्वास्थ्यकर्मीहरुको उद्धार र उपचारको व्यवस्था सरकार गर्नुपर्ने समितिले जनाएको छ। चिकित्सक तथा स्वास्थ्यकर्मीहरु माथि भएको दुव्र्यवहार र भौतिक आक्रमण रोक्न माग गरिएको छ।

लक्षणको स्वरुप हेरेर आइसोलेसनमा राख्ने मन्त्रालयको निर्णय अव्यहारिक भएको समितिले जनाएको छ। आइसोलेसनमा राख्ने वा उपचारमा राख्ने मन्त्रालयको निर्णय फिर्ताको माग गर्दै कांग्रेसले शैक्षिक वर्ष खेर नजाने गरी उच्च शिक्षा तहको परीक्षा वैकल्पिक विधि अपनाएर गर्न सुझाएको छ।

प्रतिक्रिया दिनुहोस्