नुवाकोटमा जुवातास खेल्दै गरेका पाँच जना पक्राउ, १ लाख २९ हजार रुपैयाँ बरामद
नुवाकोट,कात्तिक २४। नुवाकोटको विदुर नगरपालिका–२ लोकतान्त्रिक चोकस्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन्। उनीहरूको साथबाट प्रहरीले नगद १ लाख २९ हजार ३४० रुपैयाँ र ३२९ पत्ता जुवातास बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार आज बिहान करिब १० बजे सुभद्रा अधिकारीको घरमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट सात जनाको प्रहरी टोली खटिएको थियो।
प्रहरी टोलीले उक्त घरमा छापा मार्दा जुवातास खेलिरहेको अवस्थामा विदुर नगरपालिका–२ का ५६ वर्षीय बासु सापकोटा, ४६ वर्षीय शालिकराम अर्याल, ५३ वर्षीय निरबहादुर बस्नेत, ५४ वर्षीय कृष्णकुमार राउत र विदुर नगरपालिका–४ का ६५ वर्षीय रामकृष्ण गिरीलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले बरामद सामग्रीसहित पक्राउ परेका पाँचै जनालाई बिहान १० बजेर ४० मिनेटमा जिल्ला प्रहरी कार्यालय नुवाकोटमा ल्याई थप अनुसन्धान अघि बढाएको जनाएको छ।

