दोलखामा रेबिज रोग लागेको कुकुरले टोकेपछि तीन जनाको मृत्यु



दोलखा भदौ १० ।

दोलखामा रेबिज रोग लागेको कुकुरले टोकेपछि १६ दिनको अवधिमा एक बालकसहित तीन जनाको मृत्यु भएको छ ।

गएको असार २६ गते मेलुङ गाउँपालिका वडा नम्बर ५ र ६ का १० जनालाई एउटै कुकुरले टोकेको थियो । त्यही कुकुरको टोकाइका कारण मेलुङ गाउँपालिका ६ को तिनपिप्ले गैरीगाउँका ३० वर्षीय युवकको मृत्यु भएको छ ।

असार २६ गते कुकुरले टोकेपछि ललितपुरको पाटन अस्पताल भर्ना भएका ती पुरुषको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो उनको रेबिज रोगकै कारणमृत्यु भएको पुष्टि भएको छ । उनलाई भदौ ६ गते शनिबार उपचारको लागि पाटन अस्पताल लगिएको थियो ।

त्यसैगरी असार २६ गते नै त्यही कुकुरले मेलुङ गाउँपालिका ५ सुँगुरेका १५ वर्षीय किशोेरलाई घरमै बसिरहेको अवस्थामा टोकेको थियो । कुकुरले टोकेपछि कुनै खोप नलगाएका उनलाई भदौ १ गते उपचारको लागि काठमाण्डौ लगिएको थियो । भदौ २ गते उपचारका क्रममा अस्पतालमै ज्यान गएको मेलुङ गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

यस्तै वैत्येश्वर गाउँपालिका ६ का सात वर्षीय बालकको साउन २७ गते नै मृत्यु भएको हो । मृतक बालकले दुई पटकसम्म रेबिज रोगविरुद्धको खोप लगाएका थिए । उपचारको लागि काठमाण्डौ लैजाँदै गर्दा उनको बाटोमै मृतयु भएको थियो ।

असार २६ गते गाउँपालिकाको वडा नम्बर ५ र ६ को विभिन्न स्थानमा पुगेको कुकुरले ६ पुरुष र चार महिलालाई टोकेको थियो । त्यो कुकुरलाई त्यही दिन स्थानीयवासीले मारेका कारण उपचारमा थप समस्या भएको मेलुङ गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक हरेराम चापागाईँले जानकारी दिए । त्यही कुकुरले टोकेका चार जना महिला र तीन जना पुरुषमा अहिलेसम्म कुनै लक्षण नदेखिएको चापागाईँको भनाइ छ ।

कुकुरले टोकेपछि ज्यान गुमाएकामध्ये केहीले गाउँपालिकाको वडा नम्बर ६ मेलुङ बजारमा सञ्चालित एक निजी मेडिकलमा खोप लगाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्