कारागारमा रहेका २३१ कैदीमा कोरोना, पाँचको मृत्यु



काठमाडौँ, भदौ २८ । देशका विभिन्न कारागारमा हालसम्म २३१ कैदीबन्दीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कूल ८०० भन्दा बढीमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । कारागार व्यवस्थापन विभागका अनुसार सङ्क्रमितमध्ये शनिबारसम्म ८६ जना निको भएर फर्किएको र १३७ उपचाररत छन् । केन्द्रीय कारागार कार्यालय सुन्धारामा रहेका पाँचको मृत्यु भएको र तीनजना कैद भुक्तानी गरेर गएको विभागका सूचना अधिकारी देवर्षि सापकोटाले जानकारी दिए । उनीहरुलाई होम आइसोलेसनमा बस्ने गरी पठाइएको छ ।

हालसम्म देशभरका ७१ मध्ये ११ वटा कारागारमा सङ्क्रमण देखिएको छ । सबैभन्दा बढी सिराहामा देखिएको छ । त्यहाँ ११० जनामा परीक्षण गर्दा ८६ मा पोजिटिभ रहेको र त्यसमध्ये अहिले ८१ उपचारत रहेको सापकोटाले बताए । सुनसरीमा ११, केन्द्रीय कारागार सुन्धारामा ६५ जनामध्ये ३१ सङ्क्रमणमुक्त भएका छन् भने २९ उपचाररत छन् ।

यस्तै पाँचथर, जुम्ला र सप्तरी कारागारमा समेत सङ्क्रमण देखिएको विभागले जनाएको छ । ललितपुर कारागारमा १०८ जनाको परीक्षणमा दुई पोजिटिभ देखिएका थिए ।

यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्