नुवाकोटको पञ्चकन्यामा भव्य रूपमा लाग्यो पाँचकन्या मेला, रातभर कलाकारको प्रस्तुति



नुवाकोट,मंसिर १३ । नुवाकोटको पञ्चकन्या गाउँपालिका–३ घलेगाउँस्थित पाँचकन्या मन्दिरमा शनिबार साँझदेखि पाँचकन्या मेला लागेको छ। हरेक वर्ष मार्ग कृष्ण चतुर्थीदेखि पञ्चमीसम्म लाग्ने मेलामा यस वर्ष भक्तजनको बाक्लो उपस्थिति रहेको छ।

मेलामा गायक जगत बोगटी, सीता सुवेदी, सबिता ढुंगानालगायतका लोक कलाकारले रातभर सांगीतिक प्रस्तुति दिएका छन्। पाँचकन्या मन्दिर परिसरलाई तोरण तथा विभिन्न सजावटले झकिझकाउ बनाइएको छ भने घलेभञ्ज्याङमा मेलामा आउने भक्तजनको स्वागतका लागि स्वागतद्वार निर्माण गरी झिलिमिली बत्तीले आकर्षक बनाइएको छ।

मेलाको पहिलो दिन शनिबार साँझ स्थानीय झाँक्रीका विभिन्न टोली आ–आफ्नो घरबाट सजिएर नाचगान गर्दै मन्दिर पुगेका थिए। पञ्चमीका दिन अपराह्न घर फर्कने परम्परा रहेको मेलामा भक्तजनले मनोकांक्षा पूरा हुने विश्वासका साथ हिजो साँझदेखि नै मादी र दियो बालिरहेका छन् ।

मेलामा पञ्चकन्या गाउँपालिकाका विभिन्न क्षेत्रसहित नुवाकोटका अन्य स्थान तथा काठमाडौंबाट समेत भक्तजन आएका छन्। गत वर्षको तुलनामा यस वर्ष मेला थप भव्य बनेको आयोजकले जनाएको छ। मेलामा नेपाल रेडक्रस सोसाइटी पञ्चकन्या उपशाखाले निशुल्क चिया तथा तातोपानीको समेत ब्यवस्थापन गरेको छ।

पाँचकन्या मेला मूल व्यवस्थापन समितिको आयोजनामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ र उपाध्यक्ष बिमला केसीलगायतको उपस्थिति रहेको थियो। मेला आज अपरान्हसम्म लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस्