घोप्टेभिरमा सडक पूर्ण रूपमा सञ्चालन, नारायणगढ–मुग्लिन सडक भने दैनिक पाँच घण्टा बन्द हुने
चितवन,मंसिर १२ । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडकखण्डको घोप्टेभिरमा आज साँझ ५ बजेदेखि सडक पूर्ण रूपमा सञ्चालनमा आएको छ ।
गत मङ्सिर ५ गतेदेखि दिउँसोको समयमा सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिँदै आएको थियो । पहिरो काट्ने, जोखिमयुक्त भाग हटाउने र सडक सम्याउने काम सम्पन्न भएपछि सडक सञ्चालन सहज भएको हो ।
पहिरो प्रभावित घोप्टेभिरमा यातायात आवागमन व्यवस्थित गर्न तथा यात्रुको सुरक्षा सुनिश्चित गर्न प्रहरी टोली निरन्तर खटिएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक डिल्लीबहादुर खड्काले सवारी व्यवस्थापन, यात्रुको सुरक्षा र सम्भावित जोखिम न्यूनीकरणमा प्रहरी सक्रिय रहेको बताउनुभयो ।
घोप्टेभिरमा सडक सञ्चालनमा आएसँगै पृथ्वी राजमार्गको मुग्लिन–पोखरा र मुग्लिन–काठमाडौँ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आएका छन् ।
यसैबीच, नारायणगढ–मुग्लिन सडकखण्ड भने भोलि मङ्सिर १३ गतेदेखि अर्को सूचना जारी नभएसम्म दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार तुइनखोलामा पहिरो काट्ने तथा जोखिमयुक्त भाग हटाउनुपर्ने भएकाले प्रत्येक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सवारी आवागमन बन्द गरिनेछ ।
सडक बन्द हुने समयका कारण दिउँसो चितवनबाट काठमाडौँ तथा पोखरा आवतजावत गर्ने यात्रु प्रभावित हुने भएका छन् ।

