मकवानपुरमा श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु, आरोपित पक्राउ
मकवानपुर,मंसिर १२ । मकवानपुरमा आफ्नै श्रीमतीको कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले श्रीमान्लाई पक्राउ गरेको छ ।
जिल्लाको इन्द्रसरोवर गाउँपालिका–४ गोठभित्ता निवासी ४० वर्षीय रमेश पाख्रिनले आफ्नै ३५ वर्षीया श्रीमती रुकु पाख्रिनलाई कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मङ्सिर ११ गते राति करिब ९ बजे श्रीमान्–श्रीमतीबीच झगडा भएको सूचना स्थानीयमार्फत प्राप्त भएको थियो । सूचना पाएलगत्तै प्रहरी चौकी फाखेलबाट खटिएको टोलीले घरभित्रको सुत्ने कोठामा रुकुलाई मृत अवस्थामा फेला पारेको थियो ।
प्रारम्भिक अनुसन्धानअनुसार मादक पदार्थ सेवन गरेका रमेशले श्रीमतीलाई कुटपिट गर्दा उनी अचेत भएकी थिइन् । घटनाबारे मङ्सिर १२ गते बिहान करिब १०ः३० बजे प्रहरीलाई जानकारी प्राप्त भएपछि टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान अघि बढाएको थियो ।
घटनामा संलग्न रमेश पाख्रिनलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

