सिन्धुपाल्चोक लिदीका पहिरो पीडितलाई सहयोग



नेदरल्यान्ड भदौ २८ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए एनसिसी) नेदरल्यान्डसले जुगल गाउँपालिका–२ स्थित लिदीका पहिरा पीडितलाई आर्थिक सहयोग उपलब्ध गराएको छ ।

एनसिसी नेदरल्यान्डसले सङ्कलन गरी पठाएको रु दुई लाख १८ हजार ५२६ पहिरो पीडितको अस्थायी बस्ती बासखर्क पुगेर सङ्घका आइसिसी उपाध्यक्ष सोनाम लामाले हस्तान्तरण गरे । उनले वडाध्यक्ष प्रताप लामालाई सहयोग चेक हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा एनआरएनएका तर्फबाट बहराइनका पूर्वअध्यक्ष तथा एनआरएनए लाप्राक प्रोजेक्टका सहसंयोजक श्याम तामाङ पनि सहभागी थिए ।

सो अवसरमा उपाध्यक्ष लामाले एनआरएनएले यो रकम पहिरा पीडितहरुको जीविकोपार्जनमा खर्च गरियोस् भन्ने उद्देश्यले सहयोग हस्तान्तरण गरिएको बताए । सङ्घले यसअघि पनि यही ठाउँमा आएर पाँच लाख सहयोग गरेको जनाउँदै उहाँले सो सहयोग तत्काल वितरण गरी पीडितहरुको आवश्यकताअनुसार खर्च गर्न पनि आग्रह गरे । वडाध्यक्ष लामाले नेदरल्यान्डसबाट सहयोग रकम सङ्कलन गरी पठाउनुहुने सबैमा धन्यवाद ज्ञापन गर्दै उपलब्ध रकम पीडितहरुको आवश्यकताअनुसार खर्च गरिने जानकारी दिए ।

जुगलमा गत साउन ३० गते गएको पहिरोमा ३९ जना बेपत्ता भएकामा अहिलेसम्म ३७ जनाको शव फेला परेको छ भने दुईजना अझै बेपत्ता छन् । सीता सापकोटाको पहलमा एनआरएनए एनसिसी नेदरल्यान्डसबाट सङ्कलित रकम लिदी पठाइएको हो । त्यस्तै एनआरएनएए नेदरल्यान्डसका अध्यक्ष श्रीराम कँडेलले लिदी पहिरो पीडितसँगै नेपालको बाढीपहिराका कारण अत्यधिक प्रभावित क्षेत्र अछाम र म्याग्दीमा पनि दुई र दुई लाख राहत सहयोग पठाइसकेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्