बाढीले विस्थापित टिमुरेका पीडित आफ्नै गाउँ फर्किएर टेन्टमा बस्न थाले



रसुवा,मंसिर २। गत भदौ १० गते ल्हेन्दे खोलामा आएको बाढीका कारण विस्थापित रसुवाको टिमुरेका बाढीपीडित आफ्नै थातथलो फर्किएर अस्थायी टेन्टमा बस्न थालेका छन्।

विस्थापित ६८ घरधुरीमध्ये ४८ जना मङ्सिर १ गतेदेखि टिमुरेको खैँदीमा टेन्ट टाँगेर बस्न थालेका हुन्। बाढीपछि केही पीडित कोठा भाडामा लिएर बसेका थिए भने काठमाडौंमा बस्न नसक्नेहरू गाउँ फर्किएका हुन्।

स्थानीय कामीनुर्पु तामाङका अनुसार जन्मभूमि, परम्परा र रीतिरिवाज जोगाउने उद्देश्यले आफूहरू गाउँ फर्किएका हुन्। सरकारले अस्थायी बसोबासको व्यवस्था कहिलेसम्म र कसरी गर्ने भन्ने टुङ्गो नलगाउँदा पीडित अन्योलमा रहेको उहाँले बताउनुभयो।

उहाँका अनुसार बाढीपीडितमध्ये करिब ९० प्रतिशत काठमाडौंमा बस्न सक्ने अवस्था छैन। खेतीपाती र पशुपालन गरेर जीविकोपार्जन गर्ने सोचका साथ गाउँ फर्किएको उहाँले बताउनुभयो। विभिन्न सङ्घसंस्थाले थप टेन्ट र राहत सामग्री उपलब्ध गराउने आश्वासन दिएको पनि उहाँले जानकारी दिनुभयो।

स्थानीय पेमा दोर्जे घलेका अनुसार यसअघि मुस्ताङ गुम्बामा २०७ पुरुष र २०४ महिला गरी ४११ जना बाढीपीडित आश्रित थिए। तीमध्ये १५१ बालबालिका र ८० जना ज्येष्ठ नागरिक थिए।

सरकारले पीडितको अस्थायी बसोबास कहाँ र कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा अहिलेसम्म ठोस निर्णय नगर्दा विस्थापितहरू अन्योलमा परेको घलेले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्