कुलमान घिसिङको कार्यकाल सकियो, नयाँ को भन्ने अझै टुंगो छैन



काठमाडौं भदौ २८ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल आइतवार सकिँदैछ ।

प्राधिकरणको कार्यकारी पद आजदेखि खालि भए पनि प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिको प्रस्ताव अझैसम्म पनि क्याबिनेट नगएको ऊर्जा मन्त्रालयले जनाएको छ । चार वर्षअघि २९ भदौ २०७३ मा विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको पद सम्हालेका घिसिङको कार्यकाल सकिएसँगै प्राधिकरणको नेतृत्व सम्हाल्न एक महिना अघिदेखि नै दौड सुरु भइसकेको छ ।

प्राधिकरणको आगामी चारवर्षे कार्यकालका लागि पुन कुलमान घिसिङलाई जिम्मेवारी दिने सम्भावना रहेको बताइएको छ । ऐनअनुसार तीन जनाको नाम सिफारिस गर्नुपर्ने हुन्छ, विद्युत् प्राधिकरणको कार्यकारी पदमा पुनर्नियुक्ति भन्दा पनि नयाँ नियुक्ति गर्नुपर्ने भएका कारण आइतवार कार्यकाल सकिए पनि सोमवारसम्म निर्णय हुने मन्त्रालयले जनाएको छ ।

घिसिङको कार्यकाल सकिनुभन्दा एक महिना अघिदेखि सामाजिक सञ्जालमा घिसिङलाई नै आगामी कार्यकालका लागि जिम्मेवारी दिनुपर्ने माग उठिरहेको छ । यसबीच ऊर्जा मन्त्रालय पनि प्राधिकरणमा घिसिङलाई नै निरन्तरता दिने पक्षमा सकारात्मक रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्