सिसिपुको बस्ती स्थानान्तरण गरियो



स्थानान्तरण गरिएको बस्ती :तस्वीर श्रोत सिडिओ सावको फेसबुक वालबाट

नुवाकोट,भदौ २९ । दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ सिसिपुमा हालैको वर्षापछि आएको पहिरोका कारण जोखिममा परेको बस्ती स्थानान्तरण गरिएको छ ।जिल्ला विपद व्यवस्थापन समितिबाट नेपाल सरकार गृह मन्त्रालयसँगको समन्वयमा बाढी पहिरोबाट हुनसक्ने संभावित जनधनको क्षति न्यूनिकरणका लागि पहिरोबाट प्रभावित परिवारलाई तत्काल अस्थायी आवासको व्यवस्था गरिएको छ । गृह मन्त्रालयबाट उपलब्ध ११४ थान टेण्ट आवासका लागि व्यवस्था गरिएको हो ।

प्राप्त टेण्टलाई उक्त गाउँका १३१ घरपरिवारमध्ये १० घरपरिवारलाई यर्पापानी,९ घर परिवारलाई यूल्टुम, ६ घरपिरवारलाई पोलोखर्क र बांकी घर परिवारलाई वोल्छोडाँडा, पाङडाँडा र घ्याङडांडामा स्थानान्तरण गरिएको छ ।

पीडितका लागि बनेको आवास

यसअघि केन्द्रबाट प्राप्त राहत तथा आवश्यक साम्रगी संघीय सांसद हितबहादुर तामाङ,प्रदेशका उपसभामुख राधिका तामाङ,प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले संयुक्तरुपमा पिडितलाई हस्तान्तरण गरेका थिए।

राहत वितरण कार्यक्रममा बोल्दै संघीय सांसद हितबहादुर तामाङले अब नेगी र सिसिपुका जोखिममा परी विस्थापित परिवारलाई तत्कालका लागि खाद्यान्न व्यवस्था गर्न पहल गर्ने बताएका थिए।

यसअघि घ्याङफेदीको नेगी बस्तीका २९ परिवारलाई सुरक्षित स्थानमा सारिएको थियो । नेगी बस्तीमाथि ठूलो ढुंगा सरेको र त्यो ढुंगा झरेमा ठूलो जनधनको क्षति हुने भन्दै ती घर परिवारलाई सारिएको हो ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार राहत वितरणमा एकद्धार नीति अनुरुप सम्बद्ध निकायहरुसंगको समन्वयमा जिल्ला विपद व्यवस्थापन समितिबाट प्रभावित परिवारलाई खाद्यान्न वितरण गर्ने तयारी पूरा भएको जनाएको छ। प्रशासनले पहिरोबाट संभावित जनधनको क्षति न्यूनिकरणमा जनप्रतिनिधि समेत जिल्ला विपद व्यवस्थापन समितिको समग्र टिम अहोरात्र लागिरहेको समेत जनाएको छ। ‘यस कार्यमा सम्बद्ध सबैको पहल र सहयोगको अपेक्षा गर्दछौं’-प्रशासनले भनेको छ।

सुरक्षा महसुस गर्दै स्थानीय

महाभूकम्प २०७२ पश्चात् खानी तथा भूगर्भ विभाग, लैनचौर, काठमाडौद्वारा जुलाई २०१६ मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, सिंहदरवार काठमाडौमा पेस भएको “A Report on Geological Assessment of Earthquake Affected Settlement Area, Nuwakot District ” को प्रतिवेदनको बुँदा नं.८.३.४ अनुसार साविक घ्याङफेदी गाउँ विकास समिति वडा नं ६ (हाल दुप्चेश्वर गाउँपालिका वडा नं.१ सिसिपु)मा रहेको बस्ती पहिरोको उच्च जोखिममा रहेको भन्ने उल्लेख हुँदा समेत उक्त स्थानका अधिकांश घर परिवार साविककै जोखिम बस्तीमा बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्