दशौँ राष्ट्रिय खेलकुदको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
सुर्खेत,मंसिर १३ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले गर्नुहुने भएको छ। राष्ट्रिय खेलकुद परिषद्ले आज सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रधानमन्त्रीबाट प्रतियोगिताको उद्घाटन हुने जानकारी दिनुभएको हो।
मन्त्री पोखरेलका अनुसार उद्घाटनको समय भने मंसिर १४ गतेपछि मात्रै तय हुनेछ। प्रधानमन्त्रीबाट उद्घाटन हुने निश्चित भए पनि कार्यक्रम बिहान वा दिउँसो कुन समयमा हुने भन्ने टुङ्गो लाग्न बाँकी रहेको उहाँले बताउनुभयो। यसअघि राष्ट्रिय खेलकुद प्रतियोगिता राष्ट्रपतिबाट उद्घाटन र प्रधानमन्त्रीबाट समापन गर्ने परम्परा थियो।
मन्त्री पोखरेलले कर्णाली प्रदेशमा राष्ट्रिय प्रतियोगिता आयोजना हुनु नै ठूलो उपलब्धि भएको बताउनुभयो। यसअघि अधिकांश राष्ट्रिय प्रतियोगिता काठमाडौंमा आयोजना हुने गरेको उल्लेख गर्दै उहाँले यसपटक कर्णालीलाई प्राथमिकता दिइएको बताउनुभयो।
फुटबलको सेमिफाइनल र फाइनल खेल जुम्लामा खेलाउने निर्णयबारे पत्रकारले राखेको जिज्ञासामा उहाँले जुम्लाका नागरिकलाई पनि न्याय हुने गरी एउटा खेलको फाइनल त्यहाँ आयोजना गर्न लागिएको स्पष्ट पार्नुभयो।
मंसिर १६ गते उद्घाटन हुने प्रतियोगिताको मुख्य समारोहस्थलमा प्राविधिक पक्षबाहेक अन्य तयारी पूरा भएको छ। प्रतियोगिताअन्तर्गतका खेल भने मंसिर ८ गतेदेखि नै सुरु भइसकेका छन्।

