सिन्धुपाल्चोकको जोखिमयुक्त क्षेत्रको बस्ती स्थानान्तरणका लागि ३२ करोड लाग्ने



सिन्धुपाल्चोक, भदौ २९ । सिन्धुपाल्चोकको जोखिमयुक्त क्षेत्रमा रहेका बस्ती स्थानान्तरणका लागि ३२ करोड ५ लाख रुपैयाँ लाग्ने देखिएको छ । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले हालै प्रकाशन गरेको प्रतिवेदनले बस्ती स्थानान्तरणका लागि उक्त रकम खर्च हुने देखाएको हो ।

प्रतिवेदन अनुसार जिल्लामा ११ हजार १०९ घर बाढी तथा पहिरोको जोखिममा छन् । तीमध्ये उच्च जोखिममा रहेका ६ सय ४१ घर तत्काल स्थानान्तरण गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

स्थानान्तरण गरिनुपर्ने प्रतिघर ५ लाखका दरले ३२ करोड ५ लाख रुपैयाँ खर्च लाग्ने देखिएको छ । बस्ती स्थानान्तरणका लागि सम्भावित स्थानहरूको खोजी गरिसकिएको जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले बताए । ‘केही ठाउँहरू तय भइसकेको छ, केही बाँकी छ,’ तामाङले भने ।

जिल्लाभरका जोखिममा रहेका बस्तीहरूको सांसद् शेरबहादुर तामाङसहितको प्राविधिक टोलीले अनुगमन गरेको थियो । टोलीले जोखिममा रहेका बस्तीहरूलाई तत्काल स्थानान्तरण गर्न सुझाव दिएको छ ।

‘उच्च जोखिममा रहेको बस्तीहरूलाई तत्काल स्थानान्तरण नगरे ठूलो दुर्घटना हुने देखिन्छ,’ सांसद तामाङले भने, ‘सरकारले प्रतिवेदनमा उल्लेख भएको बस्तीलाई तत्काल सार्न प्रक्रिया अगाडि बढाउनुपर्छ ।’ आफूले अनुगमन गरेका अधिकांश क्षेत्रमा जमीनमा धाँजा फाटेको देखिएकोले वर्षा भएलगत्तै पहिरो जाने खतरा देखिएको उनले बताए ।

बाढी तथा पहिरोको उच्च जोखिममा रहेका बस्ती जुगल गाउँपालिकामा सबैभन्दा बढी छन् । जुगल गाउँपालिका–२ लिदीमा १६४, सानो नम्फामा २९ र वडा नं ३ बोल्देमा २६० गरी ४५३ घर सार्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै मेलम्ची नगरपालिका–४ को अमले बस्ती, सुनकोशी गाउँपालिका–६ को धुसीने, हेलम्बु गाउँपालिका–५ को बोल्दे, भोटेकोशी गाउँपालिकाको जम्बुलगायत बस्ती पनि उच्च जोखिममा रहेको पतिवेदनले देखाएको छ।

यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्