महोत्तरी र रुपन्देहीमा १/१ कोरोना संक्रमितको मृत्यु



काठमाडौं भदौ २९ । महोत्तरी र बुटवलमा १/१ कोरोना संक्रमितको मृत्यु भएको छ ।

महोत्तरीको लोहारपट्टी नगरपालिका–३ बस्ने एक ६० वर्षीय पुरुषको कोभिड–१९ बाट मृत्यु भएको छ । कोरोना लागेर ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि भदौ २२ गते प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको उनको आइतबार मृत्यु भएको प्रदेश नं २ का स्वास्थ्य निर्देशनालयका निर्देशक डा विजय झाले बताए ।

भदौ २२ गते अस्पताल भर्ना भएकै दिन उनको स्वाब सङ्कलन गरी प्रयोगशाला पठाइएकोमा भदौ २४ गते उनी कोरोना पोजेटिभ रहेको रिपोर्ट आएको थियो । उनी उच्च रक्तचापका बिरामीसमेत रहेको बुझिएको छ । उनको मृत्युसँगै अब महोत्तरीमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १३ पुगेको जिल्लाका कोरोना फोकल पर्सन गिरेन्द्रकुमार झाले बताए ।

यस्तै कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत कपिलवस्तुकी कोरोना सङ्क्रमित एक महिलाको सोमबार मृत्यु भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका–५ की ४७ वर्षीया महिलाको उपचारका क्रममा बिहान ४:३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए ।

यहीभदौ २१ गते गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा मिर्गौलाको डाइलासिस गराउन आएकी महिलामा कोरोना पोजेटिभ देखिएपछि अस्पतालमा लगिएको थियो । उनको आइसियुमा राखेर उपचार भइरहेको थियो । कोरोना विशेष अस्थायी अस्पतालमा आजसम्म १७ जना आइसियुमा र एक जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्