वाग्मती प्रदेश सरकारबाट नुवाकोट घ्याङफेदीका पहिरोपीडितको व्यवस्थापनमा ३० लाख



मकवानपुर,भदौ २९ । वाग्मती प्रदेश सरकारले नुवाकोट दुप्चेश्वर गाउँपालिका १ सिसिपु, नेगी लगायतका पहिरोपीडितको व्यवस्थापनका लागि तत्काल ३० लाख रुपैयाँ दिने भएको छ ।

विपद व्यवस्थापन निर्देशक समितिको सोमबार बसेको बैठकले घ्याङफेदीका पहिरो पीडितको व्यवस्थापनका लागि तत्काल ३० लाख रुपैयाँ दिने निर्णय गरेको प्रदेश उपसभामुख राधिका तामाङले जानकारी दिइन् । घ्याङफेदी पहिरो पीडितको घटनास्थलमै पुगेर प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले अवलोकन गरेका थिए ।

घ्याङफेदीको सिसिपु भन्ने स्थानमा अविरल वर्षापछि भदौ २३ मंगलबार बिहान ६:३० बजेदेखि पहिरो झर्न थालेको थियो । पहिरो झर्न थालेपछि स्थानीयहरु १ सय १३ घरधुरीका नागरिक सुरक्षित स्थानमा सरेका थिए । उनीहरु कतिपय छिमेकी, आफन्तकोमा शरण लिन पुगेका थिए भने अधिकांश गोठ र ओडारमा बास बसेका थिए ।

ओडारमा बसिरहेकाहरुलाई शनिबार संघीय सांसद हितबहादुर तामाङ, प्रदेश उपसभामुख राधिका तामाङ, प्रदेशमन्त्री युवराज दुलाल, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ लगायतको टोली पहिरोबाट विस्थापित नागरिकको अवस्था बुझ्न पुगेका थिए । सोही दिन गृहमन्त्रालयबाट मगाइएको १ सय १४ थान टेन्ट जिल्ला व्यवस्थापन समिति नुवाकोटले पहिरो पीडितलाई वितरण गरेका थिए ।

टेन्ट वितरणपछि १३१ घरपरिवारमध्ये १० घरपरिवारलाई यर्पापानी,९ घर परिवारलाई यूल्टुम, ६ घरपिरवारलाई पोलोखर्क र बाँकी घर परिवारलाई वोल्छोडाँडा, पाङडाँडा र घ्याङडांडामा स्थानान्तरण गरिएको छ

राहत वितरण कार्यक्रममा बोल्दै संघीय सांसद हितबहादुर तामाङ, वाग्मती प्रदेशका उपसभामुख राधिका तामाङ लगायतले प्रदेश सरकारबाट पीडितका लागि २० लाख भन्दा बढी बजेट निकासा हुने जानकारी दिएका थिए । उनीहरुले नेगी र सिसिपुका जोखिममा परी विस्थापित परिवारलाई तत्कालका लागि खाद्यान्न व्यवस्था गर्न पहल गर्ने समेत बताएका थिए । विस्थापितहरुले करिब ६ दिनको ओडार बसाइमा दालमोठ र चिउराको भरमा रात काटेका थिए । गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले तत्काल सुरक्षित स्थानमा स्थानान्तरणको माग गरेका थिए।

नेगी बस्तीका २९ परिवारलाई भने यसअघि नै सुरक्षित स्थानमा सारिएको थियो । नेगी बस्तीमाथि ठूलो ढुंगा सरेको र त्यो ढुंगा झरेमा ठूलो जनधनको क्षति हुने भन्दै ती घर परिवारलाई सारिएको हो ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार राहत वितरणमा एकद्धार नीति अनुरुप सम्बद्ध निकायहरुसंगको समन्वयमा जिल्ला विपद व्यवस्थापन समितिबाट प्रभावित परिवारलाई खाद्यान्न वितरण गर्ने तयारी पूरा भएको जनाएको छ ।

प्रशासनले पहिरोबाट संभावित जनधनको क्षति न्यूनिकरणमा जनप्रतिनिधि समेत जिल्ला विपद व्यवस्थापन समितिको समग्र टिम अहोरात्र लागिरहेको समेत जनाएको छ। ‘यस कार्यमा सम्बद्ध सबैको पहल र सहयोगको अपेक्षा गर्दछौं’-प्रशासनले भनेको छ।

महाभूकम्प २०७२ पश्चात् खानी तथा भूगर्भ विभाग, लैनचौर, काठमाडौंद्वारा जुलाई २०१६ मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, सिंहदरबार काठमाडौंमा पेस भएको “A Report on Geological Assessment of Earthquake Affected Settlement Area, Nuwakot District ” को प्रतिवेदनको बुँदा नं.८.३.४ अनुसार साविक घ्याङफेदी गाउँ विकास समिति वडा नं ६ (हाल दुप्चेश्वर गाउँपालिका वडा नं.१ सिसिपु)मा रहेको बस्ती पहिरोको उच्च जोखिममा रहेको भन्ने उल्लेख हुँदा समेत उक्त स्थानका अधिकांश घर परिवार साविककै जोखिम बस्तीमा बस्दै आएका थिए । जिल्लामा पटक पटक सीडीओ र सांसदहरु फेरिए पनि बल्ल बस्ती स्थानान्तरणको प्रक्रिया थालिएको हो ।

पर्खाइमा बसेका स्थानीय: कस्ले के भने?

सांसद तामाङले दिए वाग्मती प्रदेश सरकारलाई धन्यवाद

नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा न.१ घ्याङफेदी स्थित सिसिपु र नेगीखोलाको जनतालाई पहिरोको जोखिमबाट बचाउन र राहत एवम् तत्कालको आवश्यक व्यवस्थापनको लागि वाग्मती प्रदेश विपत् व्यवस्थापन निर्देशक समितिले रु ३०लाख दिने निर्णय गरेको खबर प्राप्त भएको छ ।

नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले वाग्मती प्रदेश आन्तरिक मामिला मन्त्रालयलाई राहत उपलब्ध गराउन पत्रचार गरेको र संघीय सांसद माननीय हितबहादुर तामाङ र प्रदेश उपसभामुख माननीय राधिका तामाङले मन्त्री शालिकराम जमकटेललाई फोन मार्फत घ्याङफेदीवासीलाई छिटो र पर्याप्त राहत उपलब्ध गराउन पहल लिनको लागि सल्लाह दिनु भए पछि मन्त्री जमकटेलले आजै बसेको निर्देशक समितिमा प्रस्ताव पेश गर्नु भएपछि उक्त निर्णय भएको हो । अब उक्त रकम माननीय हितबहादुर तामाङ र माननीय राधिका तामाङ संग सल्लाह लिई गाउँपालिकाले सम्बन्धित क्षेत्रका प्रभावितहरुको समस्यामा आधारित भई खर्चको लागि निर्णय गर्न सम्बन्धित पक्षको अनुरोध छ।

तीनै तहका जनप्रतिनिधिहरुको सल्लाह र समजदारीमा निर्णय भई खर्च भएको स्थितिमा रकमको पूर्ण सदुपयोग हुने हाम्रो विश्वास छ।

प्रतिक्रिया दिनुहोस्