दुई महिनाको अन्तरालमा सिन्धुपाल्चोकमा मात्रै पहिरोबाट ७४ को मृत्यु, ४१ बेपत्ता



काठमाडौं ३० भदौ । सिन्धुपाल्चोकमा बाढीपहिरोले वर्षको दुई महिनायता मात्रै ७४ जनाले ज्यान गुमाएका छन् । ४१ बेपत्ता छन् ।

बाह्रबिसे नगरपालिका–७ मा आइतबार गएको पहिरोमा मात्रै १४ जनाको मृत्यु भएको छ भने १७ हालसम्म पनि बेपत्ता नै छन् । असार २२ गते चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १२ र ९ मा गएको बाढीपहिरोले दुई जनालाई बगाएको थियो भने एक जना अहिलेसम्म बेपत्ता छन्

असार २४ गते बाह्रबिसे नगरपालिका–५ जम्बुमा बजार नै बगाउने गरी गएको पहिरोले दुई जनाको मृत्यु भयो भने १७ हालसम्म पनि हराइरहेका छन् । त्यस्तै सोही दिन भोटेकोशी गाउँपालिका–४ बुलकुटेमा एक जनाको बाढीले बगाएर ज्यान गयो । यसैगरी साउन १ गते भोटेकोशी गाउँपालिका–४ फूल्पिङमा पहिरोले पाँच जनालाई पुर्यो । लामो प्रयासपछि मात्र शव फेला परेको थियो ।

गत साउन १९ गते राति परेको अविरल वर्षाका कारण मेलम्ची नगरपालिका–११ को कभर्डहल निर्माण गर्ने कामदार सुतेको टहरो नै पुर्दा नौ कामदारले ज्यान गुमाउनपर्यो । यस्तै मेलम्ची खानेपानीको गेट फुटलाखोलाको बेगले दुई जनालाई बगाएको थियो । तीमध्ये एक जना हालसम्म पनि हराइरेहका छन् । एक जनाको तत्काल उद्धार गरिएको थियो । यस्तै सोही दिन पाँचपोखरी थाङ्पाल गाउँपालिका–२ बरुवामा एक दम्पतीले पहिरोमा परी ज्यान गुमाए । साउन ३० गते सिङ्गो गाउँ नै पुरिने गरी गएको लिदी पहिरोमा परी ३६ जनाले ज्यान गुमाएका छन् । सो पहिरोमा हालसम्म पनि दुई जना हराइरहेका जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क छ । पहिरोमा परी जिल्लाभर १३० घर पूर्णरूपमा क्षति भएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । बाह्रबिसे नगरपालिकामा ७७, भोटेकोशी गाउँपालिकामा २०, जुगल गाउँपालिकामा २९ र सुनकोशी गाउँपालिकामा चार घर पहिरोले पूर्णरूपमा क्षति भएका हुन् । यस्तै बाढीपहिरोले सयौँ परिवार विस्थापित भएका छन् ।

पहिरोका कारण सबैभन्दा बढी बाह्रबिसे नगरपालिकाको एक हजार ४४१ घरधुरीलाई स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको प्रमुख ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्