बिहीबारदेखि लामो दुरीका सवारी चल्ने, नुवाकोटमा भने बिनाअनुमति गाडी र शैक्षिक संस्था नचल्ने



नुवाकोट भदौ ३१ । केन्द्रीय सरकारले बिहीबार (असोज १ गते) देखि लामो दुरीको यातायात र आन्तरिक हवाई उडान सञ्चालन गर्ने निर्णय गरे पनि नुवाकोटमा भने प्रवेशमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटले बुधबार जरुरी सूचना निकालेर जिल्लाभित्र यातायात सञ्‍चालनको सर्त तोक्दै अन्तरजिल्ला प्रवेशमा रोक लगाउने जनाएको हो । नुवाकोट प्रशासनले अत्यावश्यक र अनुमति प्राप्त सवारी साधनलाई मात्र प्रवेश दिने र अन्य सवारी साधनहरु पूर्ण रोक लगाउने सूचनामार्फत जनाएको छ । त्यस्तै अत्यावश्यकबाहेक अन्तरजिल्ला पैदल आवातजावतमा समेत निषेध गरिएको छ । बुधबार बसेको कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकपछि सूचना जारी गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालद्वारा जारी सूचनाको अन्तिम बुँदामा लेखिएको छ, ‘जिल्ला प्रवेश गर्ने सम्पूर्ण नाकाहरुबाट एम्बुलेन्स, बिरामी बोकेका गाडी, शव वहान, सबै प्रकारका ढुवानका साधन र जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त साधन प्रवेश गर्न दिने, अनुमति प्राप्त बाहेकका सार्वजनिक यातायतका साधन र निजी सवारी साधन (मोटरसाइकलसमेत) प्रवेश गर्न नदिने तथा अन्तर जिल्ला पैदल आवातजावतमा समेत पूर्ण रुपमा रोक लगाउने’

संघीय सरकारको सोमबार बसेको बैठकले चैत ११ देखिको लकडाउन र निषेधाज्ञाले बन्द रहँदै आएको लामो दुरीका यातायातका साधन बिहीबार असोज १ देखि स्वास्थ्य मापदण्ड पालना गराइ सञ्‍चालन गर्न दिने निर्णय गरेको थियो । सरकारले कायम भाडादरमा ५० प्रतिशत वृद्धि गरेको छ ।

जिल्लाभित्र यातायात चल्ने,विद्यालय नचल्ने नुवाकोटमा जिल्ला यातायात संचालन हुने भएको छ। बुधबार बसेको कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले उक्त निर्णय गरेको हो । यसअघि जिल्लामा जोरबिजोरका रूपमा निजि सवारीसाधन मात्रै संचालनमा आएको थियो ।

त्यस्तै जिल्लामा शैक्षिक संस्था भने बन्द रहने भनिएको छ । प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले साझापथसँग कुरा गर्दै केन्द्रीय निर्णय नआएसम्म शैक्षिक संस्था बन्द रहने बताए ।

त्यस्तै जिल्ला प्रशासन कार्यालयद्वारा जारी विज्ञप्तीमा जिल्लामा संचालित होटलहरु भने संचालनमा आउने भनिएको छ । खुला हुने क्षेत्रमा जाँदा वा प्रवेश गर्दा अनिवार्य मास्कको प्रयोग गर्न, दुई मिटरको दुरी प्रयोग गर्न र स्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पुर्ण पालना गर्न भनिएको छ ।

थप निर्णय हेरौं:-

प्रतिक्रिया दिनुहोस्