अब नुवाकोट पञ्‍चकन्यामा पीसीआर रिपोर्टबिनै प्रवेश पाउने



नुवाकोट असोज १ । जिल्लाको पञ्‍चकन्या गाउँपालिकामा पीसीआर रिपोर्टबिनै प्रवेश पाउने भएका छन् । साउन २९ गतेको गाउँ कार्यपालिका बैठकले कोरोना भाइरस संक्रमणबाट नागरिकलाई बचाउन भन्दै पालिका प्रवेशका लागि ७२ घन्टाअघि पीसीआर जाँच गरी आएको नेगेटिभ रिपोर्ट प्रवेश नाकामा देखाउनुपर्ने निर्णय गरेको थियो ।

तर गत भदौ २९ गतेको कार्यपालिकाकै बैठकले दैनिक जीवन सञ्‍चालनमा कठिनाइ भएको भन्दै नागरिकले नियम संशोधनको माग गरेकाले तत्काललाई उक्त प्रावधान परिमार्जन गर्ने निर्णय गरेको बुधबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेश पुडासैनीले सूचनामार्फत जानकारी दिएका हुन् ।

सूचनामा भनिएको छ, ‘संघीय सरकार एवं स्वास्थ्य मन्त्रालयले जारी गरेका सुरक्षाका मापदण्ड पालना गर्ने गरी यस गाउँपालिका बाहिर जिल्लाहरुबाट प्रवेश गर्नुहुने आम नागरिकहरुले पीसीआरको नेगेटिभ रिपोर्ट पेश नगरेतापनि प्रवेश गर्न पाउने नियम लागू गरेको बेहोरा सम्बन्धित सबैमा यसै सूचनामार्फत सूचित गरिन्छ ।’

तर जिल्ला प्रशासन कार्यालय नुवाकोटले भने काठमाडौं लगायत अन्य जिल्ला नाकाहरुबाट प्रवेशका लागि गरिएको कडाईलाई यथावत् राखेको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बुधबारको बैठकले अन्तरजिल्ला गाडी सञ्‍चालन र पैदलयात्रुलाई समेत बिनाअनुमति आवामगन नदिने जनाइएको छ । केन्द्रीय सरकारको सोमबारको निर्णयअनुसार भने बिहीबार असोज १ देखि देशभर लामो तथा छोटो दुरीका सार्वजनिक सवारी साधन सञ्‍चालनमा आएका छन् ।

प्रतिक्रिया दिनुहोस्