संविधान दिवसको अवसरमा २८९ कैदीबन्दीको कैद मिनाहा



काठमाडौं,असोज ३ । संविधान दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले २८९ कैदीबन्दीको कैद मिनाहा गरेकी छन् ।

मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले हेमराज तुम्बाहाम्फेसमेतका कैदीको कैद भुक्तान हुन बाँकी कैद मिनाहा गरेकी हुन् । नेपालको संविधानको धारा २७६ , फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम यही असोज ४ गतेदेखि लागू हुने गरी कैद माफी दिइएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा रामदयाल मण्डल खत्वेलाई अदालतबाट भएको फैसलाबमोजिम लागेको कैद सजाय र जरिवानासमेत माफी गरेकी प्रवक्ता दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्