कोरोनाबाट सैनिकसहित २ को मृत्यु



काठमाडौं असोज ४ । कोरोनाबाट सैनिकसहित २ को मृत्यु भएको छ ।

काठमाडौँमा सेवारत रामेछाप घर भएका ती ३४ वर्षीय सैनिकको गत भदौ २९ गते मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार मृतक सैनिकको यही असोज १ गते कोरोना परीक्षणको नतिजा आएको थियो ।

यस्तै बाँकेमा कोरोना सङ्क्रमणबाट शनिबार राति थप एक ५९ वर्षीय पुरुषको मृत्यु भएको छ । दुवै फोक्सोमा निमोनिया भएपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका­२१ का पुरुषको गएराति मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार स्वासप्रश्वासमा समस्या भएपछि भदौ २० गते साँझ भेरी अस्पताल नेपालगञ्जमा भर्ना गराइएको थियो ।

कोरोनाको लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा भदौ २१ गते सङ्क्रमण देखिएको थियो । उपचारकै क्रममा स्वास्थ्य अवस्था बिग्रिदै गएपछि शनिबार साँझदेखि भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दै मृत्यु भएको श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्